कतारका राजा स्वदेश फिर्ता
बैशाख १२, २०८१ बुधबार
विश्वकप फुटबल अन्तरगत समूह बीका इरान र स्पेन बुधबार राति पौने १२ बजे कजान एरिनामा भिड्दैछन् ।
पहिलो खेलमा उपहार गोल पाएको इरान अहिले ३ अंक सहित तालिकामा शीर्ष स्थानमा रहेको छ ।
तुलनात्मकरुपमा बलिया मानिएका पोर्चुगल र स्पेन एक एक अंक सहित दोस्रो र तेस्रो स्थानमा रहेका छन् । इरानलाई आजको खेलमा स्पेनसँग बराबरी गर्दा पनि राहत हुन्छ भने स्पेनलाई जित्नैपर्ने दवाव छ ।
स्पेन प्रतियोगिताकै तुलनात्मक रुपले सन्तुलित टिम पनि हो । फिफा वरियतामा स्पेन आठौं स्थानमा रहेको छ भने इरान ३६ औं स्थानमा छ ।
विश्वकपको पहिलो चरणको खेलमा क्रिष्टियानो रोनाल्डोको कप्तानी प्रदर्शनका कारण पोर्चुगलसँग उत्कृष्ट प्रदर्शन गरेपनि ३–३ गोलको बराबरीमा रोकिँदा स्पेन अंक बाँड्न बाध्य भएको थियो ।
जसले गर्दा इरान र मोरक्कोसँगको प्रतिस्पर्धा स्पेनकालागि जित्नै पर्ने बाध्यता पनि छ । बराबरी वा पराजय स्पेन घर फर्कन विवश हुने छ ।
इरान प्रतियोगिताकै भाग्यमानी टिम हो । उसले पहिलो खेलमा मोरक्कोमाथि १–० को जित निकाल्दै महत्वपूर्ण ३ अंक जोडेको छ ।
मोरक्कोका खेलाडी अजिज बोउहाडोजले बल क्लियर गर्ने क्रममा आफ्नै पोष्टमा गोल गरेका थिए ।
स्पेन सर्जियो बुस्केट, आन्द्रेस इनिएस्टा, डेभिड सिल्भा, मार्को एसेन्सियो, सर्जियो रामोस लगायतका स्टार खेलाडीले भरिएको छ ।
म्यानचेष्टर युनाइटेडबाट व्यवसायिक फुटबल खेल्ने डेभिड डा हियाले गोलपोष्टको रक्षा गर्नेछन् ।
तर पोर्चुगल विरुद्धको खेलमा गोल रक्षक हियाको गल्तीका कारण ३–३ को बराबरी पछि स्पेनमा उनको चर्को आलोचना भएको थियो ।
स्पेनी टिमको नेतृत्व गरिरहेका नयाँ कोच फर्नान्डो हिएरोले उनको बचाउ गर्दै आगामी दिनमा उनी नै नम्बर एक गोल रक्षक हुने बताएका छन् ।
इरान आजको खेलमा पनि स्पेनविरुद्ध पहिलेकै रणनीतिमा मैदानमा उत्रने तयारीमा छ ।
इरानलाई स्पेनको आक्रमणलाई रोक्नु नै मुख्य चुनौति हुनेछ ।
इरानको २०१४ को विश्वकपमा अर्जेन्टिनाविरुद्धको खेलमा पूरै टिम डिफेन्समा उत्रँदाको झझल्को स्पेनविरुद्ध नआउला भन्न सकिन्न ।