जम्मू–कश्मीरमा टुट्यो बीजेपी–पीडीपी गठबन्धन, लगाइयो राज्यपाल शासन

 असार ६, २०७५ बुधबार १२:१९:४२ | एजेन्सी

भारतको जम्मू–कश्मीर राज्यमा भारतीय जनता पार्टी(बीजेपी)– पिपल्स डेमोक्रेटिक पार्टी(पीडीपी) गठबन्धन टुटेपछि राज्यपाल शासन लगाइएको छ ।

भारतीय राजनैतिक इतिहासमा पछिल्लो ४० वर्षमा कश्मीरमा आठौँ पटक राज्यपाल शासन लगाइएको छ । बीजेपीले समर्थन फिर्ता लिएपछि पीडीपीबाट मुख्यमन्त्री बनेकी मेहबूबा मुफ्तीले राजीनामा दिएकी छिन् । 

वर्तमान राज्यपाल एनएन बोहराकै कार्यकालमा कश्मीरमा चौथो पटक राज्यपाल शासन लगाइएको छ । वोहरा २५ जुन २००८ मा जम्मू–कश्मीरको राज्यपाल बनेका थिए । 

मंगलबार बीजेपीले जम्मू–कश्मीरमा कट्टरपन्थी तथा चरमपन्थीहरुको बढ्दो हिंसाका बीच सरकारमा बसिरहन उपयुक्त नभएको जनाएको थियो । बुधबार बीजेपीले तीन वर्षदेखि सत्ता गठबन्धनबाट फिर्ता हुने घोषणा गरेको थियो । 

राज्यपाल शासन किन ?

भारतका अन्य राज्यहरुका राजनीतिक दलहरुले सरकार बनाउन सकेनन् भने राष्ट्रपति शासन लगाइन्छ तर जम्मू–कश्मीरमा भने अलि अलग्गै नियम छ । त्यहाँ राष्ट्रपति शासनको सट्टा राज्यपाल शासन लगाइन्छ । 

जम्मू–कश्मीरको संविधानको खनुच्छेद ९२ का अनुसार राज्यमा ६ महिलनाका लागि राज्यपाल शासन लगाउन सकिन्छ तर यसका लागि भारतीय राष्ट्रपतिको मञ्जुरीको आवश्यकता पर्दछ । 

भारतको संविधानमा जम्मू–कश्मीरलाई विशेष दर्जा दिइएको छ । यो भारतको त्यस्तो एउटा मात्र राज्य हो जोसँगग आफ्नै संविधान र अधिनियम छ । भारतका अन्य राज्यमा भारतीय संविधानको अनुच्छेद ३५६ अनुसार राष्ट्रपति शासन लगाइन्छ ।

जम्मू–कश्मीरमा पहिलो पटक सन् १९७७ मा राज्यपाल शासन लगाइएको थियो । त्यतिबेला कांग्रेसले नेसनल कन्फेन्सका शेख अब्दुल्लालाई दिएको समर्थन फिर्ता लिएपछि राज्यमा राज्यपाल शासन लागेको थियो । 

जम्मू–कश्मीरको विधानसभामा ८९ सदस्य रहेका हुन्छन् । सरकार बनाउन ४४ सिट आवश्यक हुन्छ । २०१५ मा भएको विधानसभा चुनावमा पीडीपीले २८ सिट तथा बीजेपीले २५ सिटमा जित हात पारेको थियो । प्रतिपक्षी दल कंग्रेससँग १२ सिट रहेको छ । त्यस्तै नेसनल कन्फ्रेन्ससँग १५ सिट रहेको छ । यस्तोमा पीडीपीले कांग्रेस र ३ जना स्वतन्त्र सांसदको समर्थन पाएमा सरकार बनाउन सक्ने देखिन्छ ।

त्यस्तै नेसनलल कन्फ्रेन्ससँग गठबन्धन भएमा पनि नयाँ सत्ता समीकरण बन्नेछ । तर कुनै पनि दलले सरकार बनाउन आवश्यक बहुमत जुटाउन सकेनन् भन्ने राज्यपाल शासन अन्तर्गत राज्य चल्नेछ र राज्यमा ताजा जनादेशका लागि राज्यपालले चुनावको घोषणा गर्न सक्नेछन् । 

भारत र पाकिस्तानकोे विभाजन भएसँगै कश्मीर यी दुई छिमेकी देशको विवादको विषय बनेको छ । कश्मीरकै विषयलाई लिएर भारत र पाकिस्तानको बीचमा दुई पटक युद्ध समेत भएको छ । कश्मीर द्वन्द्वमा हजारौँ मानिसले ज्यान गुमाएका छन् । 
 
 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया