संसदमा पेश भएकाे नागरिकता विधेयक खारेज गर्न माग

 माघ १६, २०७५ बुधबार १९:३४:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले ल्याएको नागरिकतासम्बन्धी विधेयक खारेज गर्न माग गर्दै नागरिक समाजका अगुवाहरुले सभामुख कृष्णबहादुर महरालाई ज्ञापन पत्र बुझाएका छन् । 

नागरिक समाजका अगुवाहरुले बुधबार सभामुख कृष्णबहादुर महरालाई ज्ञापन पत्र बुझाउँदै सरकारले ल्याएको नागरिकतासम्बन्धी विधेयकमा विदेशी नागरिकले पनि नागरिकता लिन सक्ने प्रावधान राखिएकोमा आपत्ति जनाउँदै तत्काल खारेज गर्न सरकारलाई सचेत गराउन माग गरेका हुन् ।

सरकारले नेपाल नागरिक ऐन, २०६३ लाई संशोधन गर्न विधेयक तयार पारी संघीय संसदमा पेश गरेको छ । सो विधेयकमा विदेशी नागरिकले पनि नागरिकता पाउने प्रावधान रहेकाले त्यसलाई खारेज गर्न सरकारलाई सचेत गराउन सभामुख महरालाई आग्रह गरिएको नागरिक समाजका अगुवा सूर्यनाथ उपाध्यायले जानकारी दिनुभयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त समेत रहनुभएका उहाँले राष्ट्रिय परिचय पत्र वितरणको कामलाई पनि तत्काल रोक्न सभामुख महरामार्फत सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।

नागरिक समाजका अगुवाहरुले २०६३ सालको नेपाल नागरिकता ऐनबाट विदेशीले पनि नागरिकता लिएकाले त्यसको छानवीनका लागि सर्वशक्तिमान नागरिकता छानवीन आयोग गठन गर्न पनि सरकारलाई निर्देशन दिन सभामुख महरासँग आग्रह गरेका छन ।  

सभामुख महराले विधेयक विवादमा परेको उल्लेख गर्दै त्यसमा आवश्यक छलफल गर्ने बताउनु भयो । उहाँले सो विधेयक यथास्थितिमा पारित नगराउन जनदवाव सृजना गर्न पनि नागरिक समाजका अगुवाहरुलाई सुझाव दिनु भएकाे थियो । राष्ट्रिय हित विपरीतका कुनै पनि गतिविधि हुन नदिन आफू लागिपर्ने सभामुख महराको भनाइ छ । 

सभामुख महराले नागरिकतासम्बन्धी विषय संवेदनशील विषय भएकाले यसमा व्यापक छलफल गरेर अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पार्नुभयो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया