नेपालद्वारा यूएईसँग शून्य लागत र २४ घण्टे बीमाको प्रस्ताव

 माघ १७, २०७५ बिहिबार १७:३६:१९ | उमाकान्त पाण्डे

यूएई – नेपालले यूएईसँग नेपाली कामदार शून्य लागतमा ल्याउन र २४ घण्टे बीमाको व्यवस्था गर्न प्रस्ताव गरेको छ । 

समझदारी नवीकरणका लागि छलफल गर्न यूएई पुगेको नेपाली प्राविधिक टोलीले बुधबार र बिहीबार यूएईको दुबई र आबुधाबीको श्रम तथा मानव संसाधन मन्त्रालयमा भएको छलफलमा शून्य लागतमा कामदार लान, २४ घण्टे बीमाको व्यवस्था गर्न, कामदारको सुरक्षा र सेवा सुविधाका बारेमा प्रस्ताव राखेको हो ।

दुवै देशले आफ्ना प्रस्ताव प्रस्तुत गरेपछि थप छलफल आवश्यक रहेको देखिएको युएईका लागि श्रमसहचारी मोतिराम भुसालले उज्यालोलाई जानकारी दिनुभयो । ‘कतिपय कुरा दुवै देशको कानुन अनुसार मिलाउनुपर्ने देखियो, त्यसैले थप अभ्यास आवश्यक रहेको निष्कर्षमा पुगेका छौं’ भुसालले भन्नुभयो । 

यस्तै यूएईका लागि नेपालका कार्यबहाक राजदूत सागरप्रसाद फुयाँलले कुट्नीतिक रुपमा दुवै देशले तयार पारेका मस्यौदा सकारात्मक रहेको भन्दै कतिपय कुरालाई देशको कानुन अनुसार परिमार्जन गरेर अन्तिम रुप दिइने बताउनुभयो । 

मस्यौदामा कामदारको न्युनतम तलब, घरेलु कामदार, सुन्य लागत, तथा २४ घण्टे विमा लगायतका बिषय उल्लेख छन् । ओमान र यूएईसँग श्रम सम्झौताको मस्यौदामा छलफल गर्न गएको शनिबार ओमान पुगेको नेपाली टोली मंगलबार यूएई पुगेको थियो । छलफलबाट उठेका विषयलाई समेटेर सम्झौताको खाका तयार पारिने सरकारको भनाई छ । 

प्रस्तावमा सहमति भएका विषय र कानुनका आधारमा परिमार्जन गर्नुपर्ने विषय अहिले भ्रमणमा रहेको प्राविधिक टोलीले टुङगाएर दुवै पक्षको छलफलपछि मन्त्रीस्तरमा छलफल गरेर सम्झौतामा हस्ताक्षर गर्ने सरकारले तयारी गरेको छ ।

सरकारले श्रम सम्झौताको मस्यौदा टुंगो लगाउन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव तथा वैदेशिक रोजगार महाशाखा प्रमुख डाक्टर रामप्रसाद घिमिरेको नेतृत्वमा पाँच सदस्यीय टोली पठाएको हो ।

युएईसँगको छलफलमा नेपालबाट आएको ५ सदस्यिय प्राविधिक टोली र दूतावासबाट कार्यवहाक राजदूत सागरप्रसाद फुुयाँल, श्रम काउन्सिलर भेषबहादुर कार्की तथा श्रम सहचारी मोतिराम भुसाल सहभागी हुनुहुन्थ्यो । 

यूएईको प्राविधिक टोलीको नेतृत्व मानव संशाधन मन्त्री नाशर बिन थानी जुमा अल हाम्लीका सल्लाहकारसहित मन्त्रालयका सञ्चार तथा अन्तराष्ट्रिय सम्बन्ध हेर्ने सहसचिव डाक्टर ओमार अलनुवाईमीले गर्नुभएको थियो ।नेपालले यूएईसँग सन् २००७ मा गरिएको श्रम सम्झौता नवीकरण गर्न लागेको हो ।

मलेसिया, यूएई, ओमान, कतार तथा खाडीका देशसँग श्रम सम्झौता गर्ने र त्यसलाई थप प्रभावकारी बनाउने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको प्रस्तावमा सरकारले कार्यदल बनाएर काम गरिरहेको छ । सम्झौताको मस्यौदामा छलफल गर्न यूएई आएको नेपाली टोली शनिबार नेपाल फर्किने छ ।

अन्तिम अपडेट: चैत २३, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया