विश्वकप २०१८: शक्तिशाली उरुग्वेसँग कमजाेर साउदी अरेबियाकाे भेट

 असार ६, २०७५ बुधबार १४:१०:१९ | उज्यालो सहकर्मी

विश्वकप फुटबल अन्तर्गत बुधबार दोस्रो चरणको खेलमा उरुग्वे र साउदी अरेबिया रोस्तोभ एरेनामा राति पौने ९ बजे आमने सामने हुँदैछन् ।

पहिलो खेलमा विजयी भएको उरुग्वेलाई केहि राहत भए पनि साउदी अरेबिया घरेलु टोली रुससँग ५–० को फराकिलो हार अन्तरलाई बिर्सिएर नयाँ सुरुआत गर्ने दाउमा छ ।

साउदी अरेबिया फिफा बरियतामा ६७ औं स्थानमा रहेको छ भने उरुग्वे १७ औं स्थानमा छ ।

तुलनात्मक रुपमा उरुग्वे बलियो टिम भए पनि पहिलो खेलमा मोहमद सलाहविनै मैदान उत्रिएको इजिप्टमाथि १–० को कठिन जित निकालेको थियो ।
उक्त जितले तालिकामा ३ अंक जोडेपनि उरुग्वेलाई ३ अंक जोड्न ८९ मिनेट पर्खनु परेको थियो । 

पहिलो खेलमा गोल गर्न नसकेका बार्सिलोनाका स्ट्राइकर स्वारेजमाथि  दवाव पनि छ ।

उनी बुधबारको खेलमा उरुग्वेकालागि १०० औं क्याप जित्दैछन् भने अहिले सम्म ५१ गोल गरेका छन् ।
त्यसले गर्दा पनि उनीमाथि सबैको ध्यान केन्द्रित छ ।

पहिलो पटक सन् २०१० को विश्वकपमा डेब्यू गरेका स्वारेज २०१४ को विश्वकपमा इटलीका डिफेन्डर जर्जियो चिएलिनीलाई ‘टोकेर’ विवादमा आएका थिए । 
फलस्वरुप उनी १० खेलको प्रतिबन्धमा पनि परे । उरुग्वेमा स्टार खेलाडीको कमी पनि छैन ।

युरोपेली र अमेरिकी क्लबहरुमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको बाहुल्यता उरुग्वेमा छ । यसको ठिक विपरित साउदी अरेबियाले त्यति ठूलो म्याच एक्सपोजर नै पाएको छैन । 

साउदीका खेलाडीहरु विदेशमा गएर नखेलेका पनि होइनन् तर भाषा र रहनसहनकै समस्याका कारण उनीहरु बेन्चमै सीमित पनि भए ।
साउदी अरेबियाबाट धेरै खेल खेल्ने भेट्रान खेलाडी ओसामा हवासावी हुन् ।

‘अल हिलाल’ क्लबबाट व्यवसायिक फुटबल खेल्दै आएका डिफेन्डर हवासावीले १३६ क्याप जितिसकेका छन् । 

साउदीको टिममा अधिकाँश खेलाडीहरु ‘अल हिलाल’ क्लबबाट खेल्दै आएकाले आपसी तालमेलमा खासै समस्या नदेखिए पनि अन्तर्राष्ट्रिय खेलमा भने अनुभवको कमी पहिलो खेलमै देखिएको थियो । 

साउदीका मिड फिल्डर तासिम अल जशिम, फरवार्ड मोहमद अल सलवाई, फहाद अल मुवाडले टिममा उच्च प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।

हेड टु हेड

-उरुग्वे र साउदी अरब यो सहित तेस्रो पटक भिड्दैछन् । 

-यसअघिका २ खेलमा उरुग्वेविरुद्ध साउदीले बाजी मारेको थियो । जसमध्ये साउदी एक पटक विजयी र एक पटक बराबर भएको थियो ।

-विश्वकपमा साउदी अरेबियाको १५ औं खेल हो । तर पहिलो पटक साउदी अरब दक्षिण अमेरिकी टोलीसँग खेल्दै छ ।  

-उरुग्वेले पछिल्ला तीनवटा विश्वकपमा एशिया महादेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रलाई पराजित गरेको छ ।

-साउदी अरब पछिल्ला तीन विश्वकपमा समूह चरण पार गर्न सकेको छैन ।

साउदी अरब विश्वकपका पछिल्ला १० खेल मध्ये ८ खेलमा गोल गर्न सकेन । रुससँगको पछिल्लो खेलमा पनि उसले एक पटक पोष्ट चार्ज गरेन ।

-उरुग्वेले विश्वकपको समूह चरणका ९ खेलमध्ये ५ वटामा विजयी हुँदा ३ वटा खेल ड्र गरेको छ । उ एक पटक मात्रै पराजित भएको छ ।

–पछिल्ला ६ खेलमा उरुग्वेले अपराजित यात्रा कायमै राखेको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया