पूर्वयुवराज पारसले डेढ घण्टा लगाएर गरे गोरखकालीको पूजाअर्चना

 असार ६, २०७५ बुधवार १४:२५:५९ | किरण लोहनी

गोरखा - पूर्व युवराज पारस शाहले गोरखकाली र गोरखनाथको विशेष पूजा गर्नु भएको छ ।

धार्मिक भ्रमणको क्रममा हिजो गोरखा सदरमुकाम आइपुग्नु भएका शाह बिहान गोरखा दरबार पुग्नु भएको हो । त्यस क्रममा राजसंस्था पक्षधरहरूले शाहलाई मोटरसाइकल र्यालीसहित दरबार पुर्याएका थिए । 

पार्किङस्थलबाट झण्डै २० मिनेट हिँडेर शाह गोरखकाली मन्दिर पुग्नु भएको हो । ठाउँ–ठाउँमा शाहलाई स्थानीय बासिन्दा, गोरखा दरबारका कर्मचारी लगायतले फूलमाला दिएर स्वागत गरेका थिए ।

राजावादीहरूले पञ्चेबाजा बजाउदै शाहलाई मन्दिरसम्म पुर्याएका हुन् । पूजारीले हातमा खन्याइदिएको पानीले शरीरमा अभिशेष गरी पूर्व युवराज शाह मन्दिरको पूजा कोठामा पस्नु भएको थियो ।

तत्कालीन राजपरिवारले पूजा गर्ने कक्षमै लगेर पूजा आराधनाको व्यवस्था मिलाइएको थियो । जहाँ अहिले पनि सर्वसाधारणलाई प्रवेश दिइन्न । गोरखकालीलाई पूर्वराजपरिवारले कूलदेवीको रूपमा मान्दै आएको मन्दिरका पुजारीमध्येका एक हरिबाबू अर्यालले बताउनुभयो ।

शाहले झन्डै सवा एक घण्टा लगाएर गोरखकालीको पूजा गर्नु भएको थियो ।  ‘तान्त्रिक विधिबाट शोषडोपचार पूजा गर्नुभयो’, पुजारी अर्यालले भन्नुभयो । 

त्यसपछी शाहले गोरखा दरवार संग्रहालयको अवलोकन गर्नु भएको थियो । त्यहाँ रहेका पूराना तोप र हातहतियार कक्षमा रहेका सामग्रीबारे पूर्वयुवराज शाहले विशेष चासो राख्नु भएको थियो ।

सङ्गंग्रहालय परिसरमै रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरी उहाँ काठमाडौ फर्कनु भएको छ । माल्यार्पणका क्रममा राप्रपा निकट नेता कार्यकर्ताले पृथ्वीनारायण शाह र राजसस्थाको पक्षमा नारा लगाएका थिए ।

अन्त्यमा शाहले स्थानीय संञ्चारकर्मीसँग सामूहिक फोटो खिचाउनु भएको थियो । पूर्वयुवराजले संचारमाध्यमसँग कुरा गर्न मान्नु भएन । उहाँका सहयोगीहरूले शाहको यो धार्मिक भ्रमण रहेको बताएका छन् । 
 

अन्तिम अपडेट: साउन ६, २०७५

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । उहाँलाई  फेसबुकमा भेट्न सकिन्छ ।

तपाईको प्रतिक्रिया