जापानको श्रम बजारमा कामदार अभाव

 माघ १८, २०७५ शुक्रबार १२:३९:४३ | रासस
unn.prixa.net

टोक्यो – जापानमा गएको वर्ष औसतमा हरेक १०० जना रोजगारीको खोजीमा रहेका व्यक्तिका लागि १६१ वटा रोजगार उपलब्ध थिए ।

यो संख्या सन् १९७३ यताकै सबैभन्दा ठूलो अनुपात हो । विश्वकै तेस्रो ठूलो अर्थतन्त्र रहेको जापनमा बुढ्यौली उमेरका व्यक्तिको जनसंख्या बढ्दै गएपछि श्रमिकको अभाव भएको अध्ययनहरुले देखाएका छन् । 

श्रम मन्त्रालयद्वारा शुक्रबार प्रकाशित पछिल्लो विवरणमा गएको डिसेम्बरमा यो अनुपात अझ बढी थियो । हरेक १०० जनाका लागि औसतमा १६३ वटा रोजगार उपलब्ध थिए । 

धेरै वर्षदेखि जापानको श्रम बजारमा कामदारको अभाव अनुभव हुन थालेको थियो । जापानमा हाल बुढ्यौली उमेरका व्यक्तिको जनसंख्या बढ्दैछ भने न्यून जन्मदरले पनि समस्या निम्त्याएको छ । 

मुलुकको बेरोजगारी दर पनि गएको डिसेम्बरमा निकै न्यून छ । मन्त्रालयका अनुसार अघिल्लो महिनाको तुलनामा शून्य दशमलब १ प्रशितले बेरोजगारी दर घटेर २ दशमलब ४ प्रतिशत भएको छ । 

जापानको अर्थतन्त्र गएको वर्ष सेप्टेम्बर अघिका केही महिना केही सुस्त देखिए पनि हाल निकै सुधार भएको छ । पटक–पटकको प्राकृतिक प्रकोपका कारण उपभोग्य वस्तुको खरिद र निर्यात दुवैमा असर परेको थियो । 

तर विश्लेषकहरुले विश्व अर्थतन्त्रमै सुधार आएका कारण गएको वर्षको अन्तिममा अर्थतन्त्रमा सुधार भएको बताएका छन् ।
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया