ज्यान हत्केलामा राखेर बिजुली ल्याउन अग्रसर

 माघ १८, २०७५ शुक्रबार १३:४०:५७ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – घरमा विद्युत लाइन पुर्‍याउनलाई जनश्रमदान गरिरहेको तस्बिर हेरेरै प्रष्ट हुन्छ, उनीहरु ज्यान जोखिममा राखेरै जलविद्युत योजना निर्माणमा अग्रसर भएका छन् ।   

सानीभेरी गाउँपालिका–६, स्थित देउताखोला–मुसीगार लघु जलविद्युत आयोजना निर्माणको काममा स्थानीयवासी जोखिम मोलेर कामलाई तीव्रता दिइरहेका छन् । ठूलो पहरामा विद्युत आयोजनाको नहर निर्माण गर्नुपर्ने भएकोले काम जोखिमपूर्ण भएको हो । 

आयोजना निर्माण समितिका अध्यक्ष पहलसिंह घर्तीका अनुसार, मुहानदेखि पावर हाउससम्मको आठसय ८६ मिटरको नहर क्षेत्रमा  १ सय ५० मिटर पहरा मात्र रहेको छ । पहरामा ड्रिल मेसिनले प्वाल पारेर ठूल्ठूला पाइप अड्याउनुपर्ने भएकोले ज्यानको जोखिम राखेर भएपछि स्थानीयवासी क्रियाशील छन् । अध्यक्ष घर्तीले ‘पहरो खोल्न  र गह्रुँगो पाइप उचालेर अड्याउने काम बढी जोखिम छ ।

समस्याका बाबजुद दक्ष जनशक्ति परिचालन गरेर कामलाई तीव्रता दिइएको उहाँले बताउनुभयो । वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको सहयोगमा निर्माणाधीन त्यस आयोजनाबाट १३ किलोवाट विद्युत उत्पादन हुने बताइएको छ । जसबाट यहाँका दुई सय ३५ घरधुरी लाभान्वित हुने अध्यक्ष घर्तीले बताउनुभयो । 

वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको ३८ लाख ९९ हजार रुपैयाँ सहयोगमा यो आयोजना निर्माण भइरहेको छ । 

आउँदो चैत्र मसान्तभित्र निर्माण सम्पन्न गर्नेगरी काम भइरहेको त्यस आयोजनामा कूल लागतको ४० प्रतिशत श्रमदान गर्नुपर्ने व्यवस्था रहेको छ । श्रमदान अन्तर्गत स्थानीयले सामान ढुवानी, नहर तथा पावर हाउस भवन निर्माणलगायतका कामहरु गरिरहेको अध्यक्ष घर्तीको भनाई छ । 

श्रमदानको लागि गाँउका महिलाहरु समेत गैँती, बेल्चा, कोदालो, हँसिया, घन बोकेर हरेक दिन नहर बनाउन अग्रसर रहेका छन् । 


 

अन्तिम अपडेट: चैत ३, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया