दाेस्राे टी-२०: जितका लागि नेपालले पायाे १०८ रनकाे लक्ष्य

 माघ १८, २०७५ शुक्रबार १६:२४:४ | उज्यालो सहकर्मी
unn.prixa.net

यूएईले नेपाललाई १०८ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युएई १९.२ ओभरमा अल आउट हुँदै १०७ रनमा समेटिएको थियो ।

यूएईलाई सस्तैमा राेक्न नेपालका अभिनास बोहराले सर्वाधिक तीन विकेट लिँदा सोमपाल कामी, करण केसी र सन्दीप लामिछानेले दुई दुई विकेट लिए । नेपालले आज ६ जना बलर लगाएकोमा पवन शर्राफ र ललितनारायण राजबंशी भने विकेटविहीन बने ।

पहिलो ओभरको अन्तिम बलमा सोमपालले अस्फाक  अहमदलाई आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए ।  सोमपालले नै तेस्रो ओभरको तेस्रो बलमा गुलाम शब्बरलाई पेभेलियन पठाउँदै नेपाललाई सुरुमै दुई विकेट दिलाए ।

सन्दीप लामिछानेले नेपाललाई तेस्रो र चौथो सफलता दिलाएका थिए । छैटौं ओभरमा ब्यक्तिगत पहिलो ओभर लिएर आएका सन्दीपले पाँचौ बलमा शैमान अनवरलाई आउट गरे । अनवर ११ बलमा १४ रन बनाएर खेलिरहेका थिए ।

अन्तिम बलमा पनि सन्दीपले व्यक्तिगत दोस्रो विकेट हात पारे । दोस्रो विकेटको रुपमा मोहमद उस्मानलाई आउट गरेका थिए ।

करण केसीले नेपाललाई पाँचौ सफलता दिलाए ।

करणले  १०.३ ओभरमा यूएईका मोहमद बूतालाई आउट गरे । उनले बूता र सिपी रिजवानका बीचमा २४ रनको साझेदारी तोड्न सफल भए । बूता ११ रन बनाएर आउट भएका हुन् ।

छैटौं विकेटको रुपमा अभिनास बोहराले अमिर हायातलाई आउट गरेका थिए । अभिनास बोहराले सातौं सफलता दिलाएका थिए । १४।३ ओभरमा उनले मोहमद नाभिदलाई ज्ञानेन्द्र मल्लको हातबाट क्याच आउट गराएका हुन् । 

आठौं विकेटको रुपमा नेपालले रन आउटको रुपमा हात पारेको थियो । यूएईका  मोहमद सुल्तान ४ रन बनाएर रन आउट भए पछि नेपालले आठौं सफलता हात पारेको थियो । ललितनारायण राजबंशीको बलमा दीपेन्द्रसिंहले रन आउट गरे । 

आफ्नो स्पेलको अन्तिम ओभर लिएर आएका अभिनास बोहराले नेपाललाई नवौं सफलता दिलाएका छन् । उनले १८।२ ओभरमा ४४ रन बनाएर खेलिरहेका यूएईका ओपनर सिपी रिजवानलाई क्याच आउट गराए । अभिनासले योसँगै तीन विकेट लिन सफल भए । अन्तिम ओभर लिएर आएका करण केसीले जहूर खानलाई आउट गरेपछि यूएईको पारी १०७ रनमा समेटिएको थियो ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया