कूटनीतिक समूदायसँग सरकारको ब्रिफिङ : शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न आफै सक्षम छौँ

 माघ १८, २०७५ शुक्रबार १७:७:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न आफै सक्षम रहेको जनाएको छ । 

परराष्ट्र मन्त्रालयले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरुसँगको ब्रिफिङमा शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न नेपाल आफै सक्षम रहेको प्रष्टयाएको हो ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले आफ्नै मौलिकताको आधारमा शान्ति प्रक्रियाको बाँकीलाई पूर्णता दिनेबारे कूटनीतिक नियोगका प्रतिनिधिहरुलाई ब्रिफिङ गरिएको जानकारी दिनुभयो । संयुक्त राष्ट्र संघ र युरोपियन युनियनमा आवद्ध ७ देशले द्वन्द्वकालीन न्यायलाई टुंगो लगाउने सरकारको कार्ययोजनाबारे जानकारी गराउन आग्रह गर्दै संयुक्त विज्ञप्ति जारी गरेको थियो । त्यसैसम्बन्धमा प्रष्ट पार्न परराष्ट्र मन्त्रालयले कूटनीतिक नियोगका प्रतिनिधिहरुसँग सामूहिक छलफल गरेको हो । 

छलफलमा परराष्ट्रमन्त्री ज्ञवालीले शान्ति प्रक्रियाको कामलाई आफ्नै  मौलिकतामा सम्पन्न गरेको नेपालले संक्रमणकालीन न्यायको कामलाई पनि छिट्टै टुंगो लगाउने बताउनु भएको थियो । उहाँले कूटनीतिक नियोगका प्रतिनिधिहरुलाई विस्तृत शान्ति सम्झौताको मर्म, नेपालले अन्तराष्ट्रिय समुदायसँग गरेको प्रतिवद्धता, पीडितहरुको सरोकार, त्यस सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसलालगायतका मार्गदर्शनमा संक्रमणकालीन न्याय निरुपणको कामलाई छिट्टै सम्पन्न गर्ने सरकारको योजनाबारे पनि जानकारी गराउनु भएको थियो ।

मन्त्री ज्ञवालीले संक्रमणकालीन न्याय निरुपणका लागि गठित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएको व्यक्तिको छानबिन आयोगको म्याद थप गर्ने कार्यलाई पनि सरकारले अघि बढाएको पनि बताउनु भएको थियो ।

बिफ्रिङमा मन्त्री ज्ञवालीले नेपालको विकासको प्राथमिकताको क्षेत्र र त्यसमा अन्तरराष्ट्रिय समुदायको साथ, सहयोग र समर्थनको आवश्यक्ताबारे पनि विस्तृतमा जानकारी गराउनु भएको थियो । 

सरकारले लिएको ‘समृद्ध नेपाल र सुःखी नेपाली’को नारालाई सफल बनाउन अन्तराष्ट्रिय समुदायको साथ र सहयोगबारे पनि कूटनीतिक नियोगका प्रतिनिधिहरुलाई स्मरण गराइएको पनि परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिनुभयो । बैठकमा कूटनीतिक नियोगका प्रतिनिधिहरुले नेपालमा लगानी भित्र्याउनका लागि आवश्यक वातावरण बनाउन के, कस्तो प्रयास भईरहेको छ भनि जिज्ञासा राखेका थिए । नेपालमा आगामी चैत्र १५ र १६ गते नेपाल लगानी सम्मेलन हुँदैछ । त्यस सम्मेलनको तयारीका विषयमा पनि अन्तराष्ट्रिय समूदायलाई विस्तृत जानकारी गराइएको पनि मन्त्री ज्ञवालीले बताउनुभयो ।

त्यस क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले सरकारको घोषित परराष्ट्र नीतिको पनि चर्चा गर्नु भएको थियो । सबैसँग मित्रतापूर्ण सम्बन्ध राख्ने नेपालको घोषित परराष्ट्र नीतिबारे पनि नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरुलाई स्मरण गराइएको पनि मन्त्री ज्ञवालीले बताउनुभयो ।

ओली नेतृत्वको सरकार बनेयता यो तेस्रो पटक कूटनीतिक नियोगसँग सामूहिक छलफल गरेको हो । छलफलमा परराष्ट्रमन्त्री ज्ञवालीले कूटनीतिक सम्बन्ध विस्तारका विषयमा गरिएका पछिल्लो गतिविधिबारे पनि ब्रिफिङ गर्नु भएको थियो ।

प्रधानमन्त्री ओलीले ब्रिफिङमा सहभागी सबै कूटनीतिक नियोगका प्रमुखहरुलाई नेपालको विकास र समृद्धिमा पुर्‍याउँदै आएको सहयोगका लागि धन्यवाद दिनु भएको थियो ।

तस्बिर - रासस

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया