मध्यपहाडी लोकमार्गमा पर्ने सुन्दर बजारको समस्या तत्काल समाधान गरेर अघि बढ्नुको विकल्प छैन : मुख्यमन्त्री गुरुङ

 माघ १८, २०७५ शुक्रबार १९:१५:४५ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने सुन्दर बजारको समस्या तत्काल समाधान गरेर अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ । 

उहाँले अब पनि कुरा नमिले प्रदेश सरकार र जिल्लास्थित सुरक्षा निकायले आफ्नो कर्तव्य पूरा गर्नुपर्ने अवस्था आउनसक्ने समेत उल्लेख गर्नुभयो । 

लमजुङको सुन्दरबजार नगरपालिका–८ मा रहेको डीडीसी खेलमैदानमा प्रथम भोटेओडार महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले सुन्दर बजार समस्याको बारेमा बताउनुभएको हो । 

‘मैले आयोजना प्रमुख र साइड अफिसरसँग कुरा गरेको छुँ । अझै पनि कुरा नमिले प्रदेश सरकार र जिल्ला सुरक्षा निकायका साथीहरुले आफ्नो कर्तव्य पूरा गर्नुपर्ने अवस्था आउन सक्छ’, उहाँले थप्नुभयो, ‘त्यस्तो अप्रिय स्थिति नहोस् भनी सुन्दरबजारमा मध्यपहाडी लोकमार्गको समस्या समाधान हुनुपर्छ ।’

यसैगरी मध्यपहाडी लोकमार्ग सानो दुःखले आर्जेको लोकमार्ग नभएको बताउँदै उहाँले सुन्दर बजारमा काम हुन नसक्दा प्रतिष्ठा गिर्नसक्ने भनेर दुःख व्यक्त गर्नुभयो । 

‘पाँचथरदेखि बैतडीको झुलाघाटसम्म पुगेर टुंगिने १७ सय ८५ कीमीको मध्यपहाडी लोकमार्गको सुन्दरबजारमा काम हुन सकेको छैन,’ उहाँले भन्नुभयो, ‘यसले प्रतिष्ठा गिराउने काम गरेको छ ।’

यसैगरी, उहाँले मेला महोत्सवले सबै जाति, समुदाय र भाषा/भाषीलाई एकतामा बाँध्न सहयोग पुर्‍याएको बताउनुभयो ।

मुख्यमन्त्री गुरुङले महोत्सवकै अवसरमा पोखरा, लमजुङ र गोरखा माउण्टेन बाइक रुटको उद्घाट्न समेत गर्नुभएको छ । 
 

अन्तिम अपडेट: फागुन २९, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया