जनयुद्ध दिवसमा गुरिल्ला म्याराथन हुने

 माघ १९, २०७५ शनिबार ८:०:६ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – जनयुद्ध दिवसको अवसरमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा ऐतिहासिक गुरिल्ला म्याराथनको आयोजना हुने भएको छ ।

‘ऐतिहासिक दोस्रो सानीभेरी मौराखारा गुरिल्ला म्याराथन २०७५’ नाम दिइएको म्याराथन यही फागुन १ गते सानिभेरीको सिम्लीमा सम्पन्न हने भएको हो।

सानीभेरी गाउँपालिको आयोजनामा हुँदै आएको म्याराथन गाउँपालिकाभित्रका ऐतिहासिक तथा पर्यटकिय क्षेत्रहरुलाई चिनाउन महत्वपूर्ण भूमिका खेल्ने गाउँपालिका अध्यक्ष नरबहादुर पुनले बताउनुभयो । उहाँका अनुसार, म्याराथनको दूरी २३ किलोमिटर रहेको छ ।

म्याराथनमा प्रथम हुनेलाई नगद ६० हजार रुपैयाँ, द्वितीय हुनेलाई ४५ हजार, तृतीय हुनेलाई ३५ हजार र सान्त्वनालाई  १० हजारको पुरस्कार व्यवस्था गरिएको आयोजकले जनाएको छ । यसका साथै कम, मेडल र प्रमाणपत्रको समेत व्यवस्था गरिएको छ । सहभागी सबैलाई विशेष सम्मान गरिने गाँउपालिकाले बताएको छ । 

सानीभेरी गाउँकार्यपालिकाको प्रांगणबाट सुरु भई सानीभेरी नदी पार गरी पर्यटकीय स्थल मौराखारा हुदै टुरा, चाख्लीमेला, सानीभेरी र ठूलीभेरी नदीको संगमस्थल रिम्ना दोभान, जाजरकोटको रिम्ना, रुकुम ,पश्चिमको चाइनाबगरबाट मध्यपहाडी लोकमार्ग हँुदै पुनः सिम्लीमा रहको गाउँकार्यपालिका कार्यालयमा पुगी समापन हुनेछ ।

सानीभेरी गाउँपालिकाको पर्यटन विकासका लागि आयोजना गरिएको गुरिल्ला म्याराथनले सानीभेरी गाउँपालिकाको विभिन्न पर्यटकीय क्षेत्रहरु समेटिएको छ । सानीभेरी गाउँपालिकाको पूर्वदेखि पश्चिम भागसम्म बग्ने सानीभेरी नदी तथा तत्कालीन जनययुद्धमा जनमुक्ति सेनाले तालिम गरेको स्थान मौराखारा आफैमा ऐतिहासिक महत्व बोकेको क्षेत्र जैविक विविधतायुक्त क्षेत्र हो ।

समुद्री सतहबाट ३ हजार मिटरको उचाईमा रहेको मौराखाराबाट विभिन्न जिल्लाहरुको अवलोकन गर्न सकिने र विशाल फाँट भएको रमणिय स्थल हो ।

सानीभेरी गाउँपालिकाले मौराखारा क्षेत्रलाई पर्यटकीय स्थल निर्माण गर्न प्याराग्लाइडिङ, भ्यू टावर तथा सिम्लीबाट मौराखारा केबलकारको विस्तार गर्ने आफ्नो गुरुयोजनामा समाबेश गरेको छ ।
 

अन्तिम अपडेट: बैशाख २, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया