रत्नपार्कमा स्मार्ट चर्पी : पेट कटक्क हुँदा ढोका घरक्क !

 माघ १९, २०७५ शनिबार ८:५९:३१ | मिलन तिमिल्सिना
unn.prixa.net

यता, उता, जता फर्के पनि निराशा मात्रै देखेर आफैसित निराश भएका आशबहादुर सडकमा निस्केपछि दंग परे । जानु थियो रत्नपार्कतिर । अगाडि बस पर्खिराखेको थियो । गदगद् मनले आशबहादुरले रत्नपार्क जाने ठूलो बसमा लेखिएको नारा पढे –स्मार्ट बसमा तपाईँलाई स्वागत छ । 

उहिल्यै चुनावमा उठेदेखि अहिले महानगरको कुर्सीमा उँघ्दासम्म पनि काठमाण्डौका मेयरले बातैपिच्छे स्मार्टको कुरा गरेेकोे सुन्दा दिक्क थिए उनी । तर आज सडकमा स्मार्ट बस देखेपछि मनले मेयरलाई नमन गर्दै सोचे, ‘स्मार्ट सिटी बनाउँछु भन्थे, त्योभन्दा पहिल्यै स्मार्ट बस चलाउन थालेछन् ।’ आशबहादुर मख्ख परे । 

मख्ख हुँदै स्मार्ट लेखिएको बसमा त चढे । तर सबै सिट भरिभराउ छ । बस्ने ठाउँ छैन । पहिले चढ्ने गरेको अरु बस र स्मार्ट लेखिएको यो बसमा खासै फरक देखिएन । ड्राइभरको पछिल्तिर वाईफाई चल्ने एउटा राउटर राखिएको रहेछ । बस्ने सिट नभए पनि निःशुल्क वाईफाई त चलाउन पाइने रहेछ भनेर मख्ख पर्दै एक हातले डण्डी समाएर अर्को हातले गोजीबाट मोबाइल झिके । वाइफाइ अन गरे । मरिगए खुलेन । 

स्मार्ट फोहोरले भरिएका स्मार्ट डस्टबिन हेर्दै गर्दा उनलाई स्मार्ट बसले निकालेको धुवाँ पनि स्मार्ट नै हो भन्ने ज्ञान पलायो

नजिकैको सिटमा बसेका दुईजना किशोरी जाडोमा पनि हातलाई पङ्खा बनाएर मुखमा हावा लाग्नेगरी हल्लाउँदै थिए । एउटीले हातले अनुहार हम्किंदै गर्दा अर्की किशोरीले फ्रि वाईफाई चलाउन मोवाइल खेलाउँदै भनी ‘आ नाम मात्रको रैछ, चल्दैन ।’

‘म त एकछिन डाटा नै चलाउँछु, फेसबुक नहेरीकन पनि के बस्नु’ भन्दै अर्कीले हात हल्लाउन छाडेर डाटा अन गरी ।

‘ओइ हेर न यो केटो त क्या स्मार्ट देखिएको’, उसले साथीलाई फेसबुकको फोटो देखाई ।

खितखित गर्दै उनीहरुले पालैपालो केटाको फोटो हेर्न थाले । आशबहादुरले मनमनै सोचे – बस स्मार्ट, बसमा बस्ने यात्रु पनि स्मार्ट । फेसबुक चलाउने किशोरी पनि स्मार्ट, फेसबुकमा देखिने केटा र तिनका फोटा झन् स्मार्ट । लौ, काठमाण्डौ त केही दिनमै जताततै स्मार्टै स्मार्ट पो भैसकेछ !

सुन्धारामा पुगेपछि सडक छेउमा देखियो –स्मार्ट डस्टबिन । स्मार्ट डस्टबिनभित्रको फोहोर पनि स्मार्ट नै होला भन्ने सोचेर आशबहादुरको मन मसक्क मस्कियो । स्मार्ट बसभित्र बसेका मान्छे स्मार्ट भएजस्तै स्मार्ट लेखिएको डस्टबिनमा फालिएको फोहोर कसरी सामान्य हुन सक्ला र ?

स्मार्ट फोहोरले भरिएका स्मार्ट डस्टबिन हेर्दै गर्दा उनलाई स्मार्ट बसले निकालेको धुवाँ पनि स्मार्ट नै हो भन्ने ज्ञान पलायो । स्मार्ट बस, स्मार्ट डस्टबिन, स्मार्ट फोहोर, स्मार्ट सडक ! शहर पुरै स्मार्ट भएपछि यहाँ उड्ने धुलो पनि स्मार्ट नै हो । आहा ! धुवाँ, धुलो, फोहोर, हिलो, पातपतिंगर सबै स्मार्ट ! जमाना नै स्मार्टको । क्या स्मार्ट महानगर ! क्या स्मार्ट महानगरका महामेयर !

मख्ख परेर सोच्दासोच्दै बस रत्नपार्क पुग्यो । आशबहादुर बसबाट ओर्लिए । एउटा पत्रिका किने र रत्नपार्कभित्र पसे ।

पत्रिकामा भएका दुईवटा खबरले उनलाई भित्रभित्रै काउकुती लाग्यो । एउटा खबर थियो – काठमाण्डौमा अब छिट्टै स्मार्ट शौचालय बन्ने । अनि अर्को खबर थियो –नवलपरासीमा गैंडा धपाउन रेडियो । 

रेडियो सुनाउँदा कुखुराले धेरै अण्डा पार्छ भन्ने त सुनेको, रेडियो सुनाउँदा गाईले धेरै दुध दिन्छ भन्ने पनि सुनेको । तर अब त गैंडा पनि रेडियो सुन्दै नाच्न थालेछ क्यारे ! नत्र रेडियो बजेको सुनेपछि घाँसै खान कसरी बिर्सिन्थ्यो ? गाई र कुखुरा जस्ता घरेलु पशुपन्छी मात्र हैन, जंगलका गैडाले पनि रेडियो सुन्न थालेको खबर पढेपछि आशबहादुरको मन त्यसै त्यसै भुईमा न भाँडामा हुन थाल्यो । 

चर्पी नै यस्तो छ भने शहरका अरु ठाउँ कति स्मार्ट होलान् ? महानगरका महामेयरको अक्कललाई मान्नुपर्छ । अर्कोपटक पनि यिनैलाई जिताउनुपर्छ ।

अनलाइन र फेसबुकका कारण रेडियो सुन्ने मान्छे घटे भन्ने चिन्ता थियो धेरैलाई, तर पशु र पन्छीका लागि त रेडियोले गर्नसम्म गरेछ, उनीहरुको मनै हरेछ । शहरमा मान्छे स्मार्ट, जंगलमा रेडियो स्मार्ट । स्मार्ट रेडियो सुन्दै महानगरले बनाउने स्मार्ट चर्पीमा आची गर्न पाईने कुरा सम्झदा आशबहादुरको मनमा कस्तो कस्तो काउकुती लाग्न थाल्यो । 

कानमा हेडफोन हालेर रेडियो सुन्दै स्मार्ट चर्पीमा बसेको कल्पना गर्दै आशबहादुर रत्नपार्कको चौरमा पल्टिए । एकछिन पछि पेट कटक्क गर्‍यो । चर्पी जानुपर्ने भयो । चर्पी जानुपर्यो भनेर सोचेका मात्रै के थिए, आफ्नै अघिल्तिर ‘तपाईंलाई स्मार्ट शौचालयमा स्वागत छ’ भनेर लेखिएको चिटिक्कको सानो तर आधुनिक डिजाईनको घर ठडियो । 

हैन के अचम्म हो यो भनेर सोच्न नभ्याउँदै शौचालयको ढोका घरक्क आफै खुल्यो । कहिँ कतै सानो दाग पनि नलागेको, भित्रै पलेंटी मारेर भातै खान मिल्ने खालको सफासुग्घर शौचालय । गन्धको कुरा छोडौं, उल्टै मगमग बासना आउँदैछ । यस्तो शौचालयमा कसरी फोहोर गर्ने भनेर आशबहादुर अलमलमा परे । तैपनि चर्पी त बस्नै पर्‍यो। अप्ठ्यारो मानीमानी, दायाँबायाँ हेर्दै, कसैले केही भन्ने हुन् कि भनेर डराउँदै उनी स्मार्ट चर्पीभित्र पसे । भित्र पस्नासाथ ढोका आफैं लाग्यो । मन ढुक्क भयो ।

भित्र सोफाजस्तै बस्न मिल्ने ठाउँ छ । हातले छुन समेत माया लाग्ने ठाउँमा कसरी बसेर फोहोर गर्ने ? फेरि आपद आइलाग्यो । तर त्योभन्दा ठूलो आपद अर्कै थियो । कट्टु फोहोर गर्नुभन्दा सोफा शैलीको त्यही बस्ने ठाउँ नै फोहोर गर्नु ठिक लागेर उनी कक्रक्क परेर सफा ठाउँमा बसे ।

पेट हलुको भयो । स्वर्गीय आनन्दमा पुगेजस्तो भयो । अब पानीले कसरी पखाल्ने होला भनेर सोच्दै थिए । बसेको ठाउँभन्दा तलबाट आफैं पानीको फोहोरा निस्क्यो । हातले गर्नुपर्ने सबै काम पानीकै फोहोराले सिध्याइदियो । उठ्नै लागेका थिए, पानीको फोहोराले भिजाएको अंगमा हल्का तातो बतास लागे जस्तो महसुस भयो । पानीको फोहोरा फालेपछि चिसो पुछ्ने र बुढो छाला तातो पार्ने काम पनि उसैले गर्दो रहेछ । 

अरुबेला पानीले भित्री वस्त्र भिजेर सिकसिक हुन्थ्यो । स्मार्ट चर्पीमा बसेपछि न फोहोर सफा गर्न हात लगाउन पर्‍यो, न पानी । उल्टो पानीको चिसो पनि उसैले पो पुछिदियो । 

चर्पीभित्रको काम सकेर लुगा मिलाई सकेपछि ढोका आफैं खुल्यो । आशबहादुर दायाँबायाँ पल्याकपुलुक हेर्दै बाहिर निस्किए । स्मार्ट भनेको स्मार्ट । यो पो हो त स्मार्ट ! चर्पी नै यस्तो छ भने शहरका अरु ठाउँ कति स्मार्ट होलान् ? महानगरका महामेयरको अक्कललाई मान्नुपर्छ । अर्कोपटक पनि यिनैलाई जिताउनुपर्छ । महानगरका महामेयरको जय । स्मार्ट चर्पीको जय । आफैं पानीले धोइदिने जिनिसको जय । .......

‘लौ अर्को मुकुन्दे पनि भेटियो । हाहाहा..... ।’ मान्छे हाँसेको आवाजले आशबहादुर झल्याँस्स भए । वरपर बसेका मान्छेहरु उनैलाई हेर्दै हाँसिरहेका रहेछन् । 

अरु किन हाँसे भनेर गम खाँदा सपनामा आफू बर्बराएको कुरा थाहा पाएर आफैलाई नमज्जा लाग्यो । त्यसपछि ‘हैट कस्तो दिउँसै सपना देखिएछ’ भन्दै चौरमा सुतेका आशबहादुर जुरुक्क उठे । अघि देखेको सपनाको तोडले होला, अहिले साँच्चै पेट बटारियो ।

नजिकै सार्वजनिक शौचालय रहेछ । पेट समाउँदै त्यहाँ पुगे । ‘मलाई च्यापेकै बेला अरुलाई पनि चर्पी जान मन लाग्नुपर्ने, उफ्’ लामो लाइन देखेर उनी भित्रभित्रै मुर्मुरिए । पेट छाम्दै, कक्रक्क पर्दै, घरी यता फर्कंदै, घरी उता फर्किंदै, अचेंटिंदै, खप्दै गरेपछि बल्लतल्ल पालो आयो । 

पाइन्टको खिप खोल्दै भित्र पसे । टेक्ने ठाउँ कतै छैन । दिसा र पिसाबले प्वाल भरिएर माथिसम्म ढाकिसकेको छ । गन्हाएर खपीसाध्ये पनि छैन । जसोतसो बस्नै पर्यो । एउटा खुट्टा कुनातिर, अर्को खुट्टा ढोकातिर फट्याएर, कुर्कुच्चा उठाएर, खुट्टाका औंलाले मात्रै टेक्दै बल्लतल्ल टाङ फट्याए । बल्ल पेट हलौं भयो । गन्ध र फोहोर भए पनि जीउ हल्का भयो, मन पनि एकछिनलाई आनन्दले भरियो ।

अब पानीले धुनुपर्‍यो भनेर धारा खोले । तर, धारा त पहिलेदेखि नै खुलै रहेछ । बन्दै नगरेको । अर्थात बन्द गर्नै नपर्ने धारो । पानी भए पो खोल्नु र बन्द गर्नुपर्‍यो । पानी नै नभएको धारो बन्द गर्नु र खोल्नुको के अर्थ ? वरपर खाली बोतल मात्रै लडिरहेका । कुनातिर पोको पारिएका र फालिएका कागज असरल्ल । अघि हतारमा बोतल र कागज केही पनि बोकिएन । 

फेरि अर्को आपदमा फस्न लागेका आशबहादुरले खल्ती छामे । अघि किनेको पत्रिका रहेछ । पत्रिका हातमा लिए । ‘काठमाण्डौमा स्मार्ट शौचालय बन्दै’ भनेर लेखिएको त्यही पत्रिका च्यातेर पुछपाछ गर्ने काम चलाए । दिसा पुछेको पत्रिका त्यतै कुनातिर मिल्याएर बाहिर निस्के । 

बाहिर निस्कनासाथ स्मार्ट बस र चियापसलमा कहिलेकाहीँ भेटिने गाउँका एकजना साथी भेटिए । देख्नासाथ साथीले भन्यो, ‘ओहो आशबहादुर क्या स्मार्ट बनेर हिँड्या छस् नि । कता पुगेर हो ?’

स्मार्ट भनेको सुन्नेबित्तिकै आशबहादुरको मन अमिलो भयो । अमिलो मनले साथीको अनुहारसमेत नहेरी उनी फटाफट हिँडे । उनलाई स्मार्ट बस चढ्न मन त थिएन, तर स्मार्ट बस नचढी अब घर फर्कने अर्को उपाय पनि थिएन । किनभने काठमाण्डाै शहरमा स्मार्ट गफ बाहेक अरु केही पनि बाँकी थिएनन् । 
 

अन्तिम अपडेट: असार २२, २०७६

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

1 Comments

  • Khem raj poudel

    Feb. 2, 2019, 9:51 a.m.

    मिलनजी, तपाईंको लेखा म नियमित पढ्छु /स्मार्ट चर्पीको धारा खोल्नु र बन्द गर्नुको के अर्थ ले सार्है मन छोयो , हाँस्दा हाँस्दा आँशु नै आयो / धन्यवाद मिलनजी !!

  •  0 Reply

तपाईको प्रतिक्रिया