सप्तरीमा गाँजा तस्कर र सशस्त्र प्रहरीबीच गोली हानाहान, ३ तस्कर पक्राउ

 माघ १९, २०७५ शनिबार ११:१०:३९ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १३ स्थित कोशी पलारमा गाँजा तस्कर र सशस्त्र प्रहरीबीच शनिबार बिहान भएको झडपका क्रममा दोहोरो गोली हानाहान भएको छ ।

भारततर्फ निकासी हुँदै गरेको गाँजा नियन्त्रण गर्न पुगेको प्रहरी र तस्करहरुबीच झडप भएको हो । प्रहरीलाई देखेर तस्करले २ राउन्ड गोली चलाएपछि प्रहरीले पनि एक राउन्ड हवाई फायर गरेर ३ जना गाँजा तस्करलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सप्तरी ६ नम्बर गणका एसपी खेमबहादुर थापाले जानकारी दिनुभयो ।

गाँजासहित भारत विहार राज्यको सुपौल जिल्लाका ६५ वर्षीय उदय मुखिया, सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ का ५६ वर्षीय हिरा मुखिया र ४५ वर्षीय लालबहादुर रायलाई पक्राउ परेका छन् । तस्करीमा संलग्न अन्य व्यक्ति भने फरार भएको तथा उनीहरुको खोजी कार्य तीव्र रुपमा भइरहेको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएको गाँजा र तस्करलाई नेपाल प्रहरीको जिम्मा लगाई थप अनुसन्धान भइरहेको सशस्त्रका एसपी थापाले बताउनुभयो ।

पछिल्लो समय सप्तरीको हनुमाननगर गोबरगाढाका साथै अन्य विभिन्न नाकामा गाँजा तस्करी फष्टाएको स्थानीयवासीको भनाई छ ।  
 

अन्तिम अपडेट: चैत ९, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया