निगमले जापान उडानको अनुमति पायो, फागुन १५ सम्म निगमको जहाज जापान उड्ने

 माघ १९, २०७५ शनिबार १३:५९:३४ | रासस
unn.prixa.net

काठमाण्डौ – नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जापान उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट विमान सञ्चालनको अनुमति प्रमाण–पत्र (एओसी) पाएको छ । 

निगमको नयाँ ए ३३० वाइड बडी जहाजले काठमाण्डौ–ओसाका उडानका लागि क्यानबाट शुक्रबार एओसी पाएको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिनुभयो । निगमले झण्डै आठ महिनाअघि भिन्न मितिमा दुइटा वाइड बडी जहाज खरिद गरेको थियो । हाल पुरानै गन्तव्यमा उडान भर्दै आएका वाइड बडी जहाजबाट जापानसहित अन्य मुलुकका गन्तव्यमा उडान भर्ने निगमको योजना छ । 

नयाँ गन्तव्यमा उडान सञ्चालनका लागि स्वदेश नियामक निकायबाट पनि अनुमति लिनुपर्ने प्रावधानअनुरुप क्यानले निगमलाई एओसी दिएको हो । नेपालमा उडान अनुमति पाएपछि जापानमा उडान अनुमतिका लागि प्रक्रिया अघि बढाउने बाटो खुला भएको सहायक प्रवक्ता कोइरालाले उल्लेख गर्नुभयो । ओसाका विमानस्थलमा उडान सञ्चालनका लागि निमगले कर्मचारीसमेत खटाइसकेको छ । 

निगमले नेपालमा गर्नुपर्ने कागजातको सम्पूर्ण प्रक्रिया पूरा गरिसकेकाले छिट्टै जापानको नियामक निकायसँग उडान अनुमतिका लागि पेश गर्ने निगमको भनाइ छ । निगमले आगामी फागुन १५ गतेसम्म जापान उडान सुरु गर्ने तयारी गरेको निगमले जापानबाट अनुमति पाएपछि उडान सुरु गर्न झण्डै एक महिना लाग्ने जनाएको छ । 
त्यस्तै, आगामी चैत १५ गतेसम्म चीनमा पनि उडान सञ्चालन गर्ने लक्ष्यासहित निगमले आवश्यक प्रक्रिया अघि बढाएको छ । जापान र चीनका दुवै गन्तव्यमा कर्मचारी व्यवस्थापन भइसकेका छन् । 

निगमले अहिले विभिन्न आठ गन्तव्य भारतको नयाँ दिल्ली, बैङ्लोर, मुम्बई, मलेसिया, सिङ्गापुर, बैंकक र कतारमा उडान भर्दै आएको छ । 

निकट भविष्यमै चीन, दक्षिण कोरिया र साउदी अरबमा सिधा उडान गर्ने योजनाका साथ प्रक्रिया अघि बढाइएको छ । निगमसँग हाल दुई अन्तर्राष्ट्रिय वाइड बडी ए–३३० जहाज, दुई न्यारो बडी ए–३२० जहाज र एक बोइङ ७५७ जहाज छन् ।
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया