वीरेन्द्रगरमा कित्ताकाट र घरको नक्सा पासमा रोक

 माघ १९, २०७५ शनिबार १६:४९:४१ | मुना हमाल
unn.prixa.net

सुर्खेत – सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले नगर क्षेत्रमा नयाँ कित्ताकाट र घरको  नक्सा पासमा रोक लगाएको छ ।

कृषियोग्य जमिन खण्डिकरणले गर्दा मासिन थालेको भन्दै नगरपालिकाले रोक लगाउने रोक लगाउन निर्णय गरेको हो । नगरपालिकाले साविकको वीरेन्द्रनगर १ देखि १२ सम्म गुरुयोजनासंग जोडिएका सडक बाहेक वीरेन्द्रनगर उपत्यकाको रत्नराजमार्गदेखि दक्षिण तर्फ वडा नम्बर २, ३, ९, १० ११ र उत्तर तर्फको वडा नम्बरहरु १४, १५, १६ मा कित्ताकाटमा रोक  लगाएको हो ।

अहिले वीरेन्द्रनगरमा व्यवस्थित शहरका लागि गुरुयोजना निर्माण भइरहेकाले गुरुयोजना नबनुन्जेलसम्म कित्ताकाटमा रोक लगाउने निर्णय गरिएको नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले जानकारी दिनुभयो ।

‘नगर क्षेत्रमा जथाभावी रुपमा कित्ताकाट गर्दा खेतीयोग्य जमिन मासिँदै गएको छ । अहिले हामीले व्यवस्थित शहरका लागि गुरुयोजना बनाउने प्रक्रियामा छौँ । त्यसैले खेतीयोग्य क्षेत्र कहाँ हो, आवासको क्षेत्र कहाँ हो भनेर छुट्टाउन आवश्यक छ’ उहाँले भन्नुभयो, ‘नगरको गुरुयोजना नबन्दासम्मका लागि हामीले कित्ताकाट र नक्सा पासमा रोक्ने कार्यपालिकाबाटै निर्णय गरेका हौँ । 

उहाँले खेतीयोग्य जमिन संरक्षणमा सबैले सहयोग गर्न पनि आग्रह गर्नुभयो । उहाँले अहिले यो निर्णयबाट केही समय सर्वसाधारणलाई समस्या भएपनि नगरपालिकाले खेतीयोग्य जमिन रोक्नका लागि गरेको प्रयासलाई सहयोग गर्नुपर्ने बताउनुभयो । 

‘जमिन खण्डिकरणबाट रोक्नका लागि स्थानीय सरकार, जनप्रतिधिको एउटै प्रयासले मात्र सम्भव छैन’ उहाँले भन्नुभयो, ‘यसमा सबै स्थानीय नागरिकहरुको पनि सहभागिता चाहिन्छ ।’ 

अन्तिम अपडेट: चैत १४, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया