टुटलमाथि कारबाहीको तयारी, करछलीको अनुसन्धान अन्तिम चरणमा

 माघ १९, २०७५ शनिबार १७:१:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भाडा लिएर मोटरसाइकलको पछाडि मान्छे बोक्ने टुटल कम्पनीमाथि करछलीको अभियोगमा कारबाही हुने भएको छ ।

अनुसन्धानको क्रममा टुटलले भ्याट छलेको पाइएकोले कारबाहीको तयारी भैरहेको आन्तरिक राजश्व विभाग स्रोतले जनाएको छ । 

सेवाग्राहीसँगबाट १३ प्रतिशत भ्याट लिने गरे पनि मूल्य अभिवृद्धि कर भ्याटमा दर्ता नभएको पाइएपछि आन्तरिक राजश्व विभागले माघ ९ गतेदेखि छानबिन थालेको थियो । 

‘भ्याटमा दर्ता नभइकन यात्रुसँग १३ प्रतिशत बढी रकम असुलेको पाइएको छ, ठ्याक्कै अमाउन्ट अझै निस्केको छैन, तर करछली हो भन्नेमा हामी नजिक पुगेका छौं’ स्रोतले उज्यालो अनलाइनलाई जानकारी दियो ।

विभागका उपमहानिर्देशक तथा प्रवक्ता यज्ञप्रसाद ढुंगेलले पनि टुटलले कर छली गरेको विषयमा केही तथ्य फेला परेको बताउनुभएको छ । 

‘हामीले करछलीका केही इस्यू फेला पारेका छौँ, अनुसन्धानकै क्रममा भएकाले केही कुरा अहिले नै सार्बजनिक गर्न मिल्दैन, अनुसन्धान केही दिनमै टुंगिन्छ र दोषी पाइएमा तत्कालै कारबाही अघि बढ्छ ।’ ढुंगेलले भन्नुभयो । 

यातायात व्यवस्था ऐनमा निजी प्रयोजनको लागि दर्ता भएकाले सवारीसाधनले भाडा लिएर यात्रु बोक्न नपाइने व्यवस्था गरे  पनि राइड शेयरिङको रुपमा नेपालमा टुटल र पठाओले व्यापार गरिरहेका छन् । 

टुटल र पठाओले गैरकानुनी रुपमा व्यापार गरिरहेको भन्दै आलोचना भैरहेको छ भने सस्तोमा सेवा दिइरहेको भन्दै यसको बचाउ पनि भैरहेको छ ।
टुटलले १९ महिनासम्म उपभोक्ताबाट १३ प्रतिशत भ्याट असुले पनि आफू नै भ्याटमा दर्ता नभएको तथ्य सार्वजनिक भैसकेको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया