माडीको पानी दाङमा ल्याउन यसै वर्षदेखि काम हुन्छ : सभामुख महरा

 माघ १९, २०७५ शनिबार १९:१:२ | हेमराज शर्मा
unn.prixa.net

दाङ – प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले रोल्पाको माडी नदीको पानी डाइभर्सन गरेर दाङ ल्याउनका लागि यसै वर्षदेखि काम सुरु हुने बताउनुभएको छ । 

घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको १९ औँ साधारणसभा तथा सातौँ अधिवेशनको शनिबार घोराहीमा उद्घाटन गर्दै सभामुख महराले माडीको पानी दाङमा ल्याउने बताउनुभएको हो ।

दाङमा पानीको श्रोत सुक्दै गएको अवस्थामा सभामुख महराले चर्चामा रहेको माडी डाइभर्सनको काम यसै वर्षदेखि गर्ने गरी तयारीको काम अघि बढेको जानकारी दिनुभयो । केही समय अगाडि समृद्ध दाङका लागि जन निर्वाचित प्रतिनिधिले गरेको बहस स्मरण गर्दै डाइभर्सनको सर्भे पनि यही वर्षदेखि गर्ने बताउनुभयो ।

सभामुख महराले प्राकृतिक श्रोतको सही सदुपयोग गर्न नसक्दा दंगाली आफैले दुःख भोगिरहेको बताउनुभयो । दक्षिणतिरको श्रोत उत्तरतिर ल्याउन निकै खर्चिलो रहेको बताउँदै सभामुख महराले उत्तरतिरको श्रोतको संरक्षणमा चनाखो हुन सबैलाई आग्रह गर्नुभयो ।

संस्थाका अध्यक्ष देवीबहादुर डीसीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले पानीका मुहान संरक्षणका लागि मानवीय क्रियाकलापमा विशेष ध्यान दिन आवश्यक रहेको बताए । 


 

अन्तिम अपडेट: चैत १८, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया