पंगेनीले भावुक बनाए, नवीन र सम्झनाले छमछमी नचाए

 माघ २०, २०७५ आइतबार ११:११:२९ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ– लोक दोहोरी गायक बद्री पंगेनी, नवीन पौडेल र सम्झना भण्डारी शनिबार प्रथम भोटेओडार महोत्सवमा आउने थाहा पाएपछि बिहानैदेखि महोत्सवस्थलमा दर्शकको भीड लागेको थियो । गायक/गायिकाको प्रस्तुती हेर्न लमजुङेहरु आतुर थिए । 

दिउँसो सवा ३ बजे जब लोकदोहोरी गायक नवीन पौडेल स्टेज चढी ‘के सम्झनु छ र ......’ बोलको गीत गाए । एकाएक महोत्सवको माहोेल तात्यो । गायक पौडेलले गाउँदै, नाच्दै, दर्शकलाई पनि सँगै छमछमी नचाए । 

साथमा उनले ‘मन परेरै हो....,’ ‘बुलाकी लाउँदिनौँ, झुम्काना लाउँदिनौँ......,’ ‘के सम्झनु छ र......,’ ‘सुदूरपश्चिम घर मेरो.....,’ ‘फुलेको तोरीलाई......,’‘श्रीनगर बतासै डाँडैमा.....’ लगायतका आफ्ना गीतहरु प्रस्तुत गरे । 

यसैगरी, महोत्सवमा गायिका सम्झना भण्डारीले पनि दर्शक दीर्घामा पुगी गीत गाउँदै दर्शकलाई छमछमी नचाइन् । गायिका भण्डारीले ‘भीरैको घाँस....,’ ‘छिनछिन बज्ने चुरा.....,’‘कैहिले हो त सानु....,’‘मेरो माया बसेको ठाउँमा......,’लगायतका गीतहरु गाएकी थिइन् । 

गीत, नाचमा झुमेको माहोल एकाएक भावुक बन्यो । जब साँझ ५ बजे लोक दोहोरी गायक बद्री पंगेनी स्टेज चढी परदेशी छोेराको वेदना  समेटिएको ‘आमा बिदा पाउँदिन....,’ बोलको गीत गाए । 

उनको यो गीत सुनेर विशेषगरी वृद्ध बाआमा भावुक बनेका थिए । आफ्नो गीतबाट भावुक बनेका दर्शकलाई गायक पंगेनीले पनि फेरि छमछमी नचाए । ‘रातो अनि तातो पछ्यौरी...,’ ‘दाइको ससुरालीमा....,’ लगायतका आफ्ना चर्चित गीत गाएर उनले दर्शकहरुलाई छमछमी नचाएका थिए । 

महोत्सवकै अवसरमा गायक प्रकाश न्यौपाने, स्थानीय कलाकार जुना परियार, पासाङ गुरुङ, युगेश परियारलगायतले पनि गीत गाएका थिए । 
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया