१० ओभरमा छोट्याइएको खेलमा नेपालले यूएईलाई दियो १०५ रनको टार्गेट

 माघ २०, २०७५ आइतबार १७:४७:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

यूएईविरुद्धको तेस्रो तथा निर्णायक टी–२० क्रिकेटमा नेपालले १०५ रनको लक्ष्य दिएको छ ।

दुबईमा वर्षाले खेल प्रभावित गरेपछि १० ओभरमा झारिएको छ । आजको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित १० ओभरमा ८ विकेट गुमाएर १०४ रन बनाएको हो ।

नेपालको ओपनिङ आज पारस खड्का र पवन शर्राफले गरेका थिए । जसमा तीन बल खेलेका पवन खाता नै खोल्न नसकी आउट भए । त्यसपछि क्रिजमा आएका ज्ञानेन्द्र मल्लले ९ बल खेल्दा २ चौकाको मद्दतले ११ रन जोडे । दीपेन्द्रसिंह ऐरी आज भने चल्न सकेनन् ।

दोस्रो टी–२० मा उत्कृष्ट पारि खेल्दै नेपाललाई जिताएका दीपेन्द्र आज भने २ रन जोडेर फर्किए । २१ रन बनाउँदा दीपेन्द्र आउट भएपछि पारस र सन्दीप जोराले नेपालको इनिङ उकासेका थिए । आक्रामक ब्याटिङ गरेका पारसले १४ बलमा ४ चौका र १ छक्काको मद्दतले २९ रन जोडे ।

पारस आउट भएपछि क्रिजमा आएका विनोद भण्डारी र जोराले पनि दुवै तर्फबाट आक्रामक पारि खेलेका थिए । सन्दीपले ११ बलमा तीन छक्काको मद्दतले २८ रन बनाए । विनोद भण्डारीले १३ बलमा २१ रन बनाउँदा २ चौका र एक छक्का प्रहार गरे ।

पाँच बलमा करण केसीले १० रनको योगदान गर्दा नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर १०४ रन बनाएको छ । यूएईका सुल्तान अहमद र मोहमद नाभिदले दुई-दुई विकेट लिए ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया