प्रधानमन्त्रीज्यू एकपटक ऐनामा आफ्नो अनुहार राम्रोसँग हेर्नुहोस् : गगन थापा

 माघ २०, २०७५ आइतबार १८:१६:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका गलत कामविरुद्ध सडक र सदन सर्घंष गर्ने चेतावनी दिएको छ । 

चिकित्सा शिक्षा सुधारलगायतका विषयमा आफूहरुले उठाएको मागलाई दुईतिहाईकोे दम्भ र अंहकारबाट मिच्ने काम गरेको भन्दै कांग्रेसले सरकारका गतल कामविरुद्ध सशक्त प्रतिकार गर्ने चेतावनी दिएको हो । प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दलका सांसद गगन थापाले सरकारका गलत कामविरुद्ध आश्चर्यजनक ढंगले प्रतिकारमा उत्रने बताउनुभएको हो ।

संवैधानिक आयोगका पदाधिकारी नियुक्ति गर्दा सरकारले प्रतिपक्षी दलका नेतालाई छल्ने काम गरेको भन्दै उहाँले सरकारका हर गलत काम विरुद्ध कांग्रेस उभिने चेतावनी दिनुभयो । उहाँले चिकित्सा शिक्षा सुधारमा अवरोध पुर्याउन खोज्ने हरेक कदमलाई कांग्रेसले रोक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले सरकारले प्रतिपक्षी दलसँग गरिएको व्यवहार सम्झिरहने छौँ । सरकार संसारलाई आश्चर्यचकित बनाउने काममा लागिरहोस् । प्रतिपक्षी देखिएन भनेको होइन सरकारले ?  प्रतिपक्षी सुनिएन भनेको होइन सरकारले ? भोलिदेखि सडकबाट पनि सदनबाट पनि सरकारलाई प्रतिपक्षी कहाँ छ ? भनेर पनि देखाउछौँ । र अब सरकारलाई आश्चर्यचकित पार्ने पालो  हाम्रो । सरकारलाई प्रतिपक्षी देखाएर प्रतिपक्षी कस्तो हुँदो रहेछ भनेर आश्चर्य पार्छौँ ।’

संविधानको सार्थक कार्यान्वयनको पक्षमा आफूहरु रहेको भन्दै उहाँले सरकारका काम कारबाहीले सिर्जना गरेको आक्रोशले उपलब्धिलाई ध्वस्त पार्ने खतरा औँल्याउनुभयो । सरकारका कामकारवाहीबाट जनताको आक्रोशित र निरास बनेको भन्दै उहाँले कांग्रेसले जनताको आक्रोशलाई सरकार सम्म पुर्याउने जिम्मेवारी पूरा गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारको असक्षमता र अंहकारले एकपछि अर्को निम्त्याएको घटना र काण्डले गर्दा हामीलाई चिन्ता लाग्न थालेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रप्रति त्यो आक्रोश नतेर्सियोस् । सरकारले सिर्जना गरेको निरासाको आगोमा कोही रोटी सेक्न नआओस् । जातका नाममा धर्मका नाममा झण्डा बोकेर नआओस् ।’

चिकित्सा शिक्षामा देखिएका थुप्रै अनियमिताविरुद्ध उत्रिएका डाक्टर गोविन्द केसीविरुद्ध विरोधका बाबजुत चिकित्सा शिक्षा विधेयक पास गरेर सरकारले दुई तिहाईको क्षमता प्रर्दशन गरेको भन्दै उहाँले सरकारलाई बधाई दिनुभयो । उहाँले भन्नुभयो, ‘जोगी डाक्टरले सरकारसँग निहुँ खोज्यो । त्यो पनि दुई तिहाईको सरकारसँग । यस्तो बलियो सरकारसँग । सरकारले देखाइदियो । सरकारलाई बधाई छ ।’

डाक्टर केसीको मागविरुद्ध सरकारले ल्याएको विधेयकबाट चिकित्सा शिक्षामा अनियमिता गर्नेहरु, त्यसलाई प्रश्रय दिने र सरकारमा रहेको दल नेकपाका सांसद पनि खुशी भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘लोकमानसिंह कार्कीदेखि लिएर कालिकास्थानको टहरामा गएर मेडिकल कलेज सञ्चालन गर्नेसम्म सरकारले डाक्टर केसीलाई देखाइदिएकोमा खुशी भएका छन् । यत्रो मान्छेलाई खुशी बनाउने सरकारलाई बधाई छ ।’

उहाँले भूमिहीन दलितका लागि, बालबालिकाको हक हितका लागि, शिक्षामा राज्यको भुमिका बढाउने सवालमा नदेखिएको सरकारको दुई तिहाईको दम्भ चिकित्सा शिक्षा विधेयक पास गर्नमा देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कमरेड मनमोहनका लागि दुई तिहाई देख्न नपाए पनि कमरेड मार्सीमोनका लागि दुई तिहाई देख्न पाइयो सरकार र सरकारको दललाई बधाई ।’

आफैले गरेको सहमति कार्यान्वयन नगरेर सरकारले डाक्टर केसीलाई माग पूरा नभैकन अनसन तोड्नुपर्ने अवस्था श्रृजना गर्नुले स्वयम प्रधानमन्त्री प्रतिको जनताको विश्वास गुमेको टिप्पणी उहाँले गर्नुभयो ।  उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीप्रतिको विश्वास सुत्यो । प्रधानमन्त्रीप्रतिको विश्वास ढल्यो । यो ढलेको विश्वासलाई कसले उठाइदिने ? प्रधानमन्त्रीको इमानमा डढेलो लाग्यो, पानी कल्ले हाल्दिने ? संसार आश्चर्यचकित भएको छ यस्तो वितण्डावादी तर्क, वाकछलवादी प्रवृति देखेर जनता दिक्क भएका छन् आक्रोशित भएका छन् ।’

संकटापन्न अवस्थामा पुगेको देशको अर्थतन्त्र सुधार तथा शान्ति सुरक्षाको प्रत्याभूति दिने विषयमा सरकार गैरजिम्मेवार र संवेदनशीलहीन भएको टिप्पणी उहाँले गर्नुभयो । उहाँले भन्नुभयो, ‘अर्थतन्त्र यस्तो संकट उन्मुख भएको छ । कुनै पनि बेलामा गल्र्यामर्गुलुम ढल्ला भन्ने जस्तो भएको छ । सरकार कुनै सार्थक पहल गर्दैन । विश्वास जगाउनका निम्ति कुनै हस्तक्षेप गर्दैन । ढाक छोप गर्छ । यो देख्दा जनता आक्रोशित भएका छन् । आश्चर्यचतिक भएका छन् ।’

सरकारले गर्न लागेको दोश्रो लगानी सम्मेलनप्रति पनि उहाँले व्यंग्य गर्नुभयो । उहाँले भन्नुभयो, ‘सबै उद्योग धन्दा कलकारखानाबन्द चलाउने मान्छेहरु यस्तो निरास भइरहेका बेला प्रधानमन्त्री भन्दै हुनुहुन्छ संसार आउँदै छ । धोक्रोका धोक्रो पैसा बोकेर नेपाल आउँदै छ । यो भनेको र यो भित्र भएको फरक देखेर जनता आश्चर्यचकित छैनन् । जनता आक्रोशित छन् ।’

सरकारबाट नै गलत तथ्यांक दिने तथा तथ्यांक तोडमोड गरेर प्रस्तुत गर्ने र नेपाल सम्बन्धी विदेशीको रिपोर्ट परिवर्तत गर्न धम्की दिने काम भइरहेको दाबी उहाँले गर्नुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्र बैंकदेखि योजना आयोग र वित्तीय आयोगसम्म सबैलाई निकम्मा बनाएर सानो एउटा कोटरीबाट सिंगो सरकार चलाउने कोशिस भइरहेको छ ।’

उहाँले भ्रष्टाचारीको अनुहार हेर्दिन भन्ने प्रधानमन्त्रीलाई आफ्नै वरपर भइरहेको भ्रष्टाचारलाई एकपल्ट नियाल्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री भन्नुहुन्छ, म भष्टाचारीको अनुहार हेर्दिन । दायाँ भष्टाचारी, बायाँ भ्रष्टाचारी,  विमान किन्दा भ्रष्टाचार, जलविद्युत्मा भ्रष्टाचार, वैदेशिक रोजगारीमा भष्टाचार, दूरसंचारमा भ्रष्टाचार । यत्र तत्र भ्रष्टाचारी राखेर हेर्दै गर्दा, प्रधानमन्त्रीले म भ्रष्टाचारीको अनुहार हेर्दिन भन्दै गर्दा मलाई डर लाग्न थालेको छ । प्रधानमन्त्रीले ऐना हेर्ने अवस्था बन्द गर्नुपर्ने अवस्था आउन सक्छ ।’

विवादास्पद सम्मेलनमा सरकार र सदनका नाम जोडेर मुलुकको प्रतिष्ठामा आँच पुर्याउने काम गरेको सरकारले पछिल्लो समय भेनेजुएलाका बारेमा टिप्पणी गरेर नयां संकट निम्त्याएको टिप्पणी उहाँले गर्नुभयो । उहाँले भन्नुभयो, ‘आम नेपाली जनता चाहन्छन् । सम्माननीय प्रधानमन्त्रीले एकपटक ऐना अगाडि उभिएर एकपटक आफ्नो अनुहार राम्रोसँग हेर्नुहोस् । अनुहारमा दागैदाग लागेको छ । त्यो दाग मेटाउनुहोस् । हाम्रो प्रधानमन्त्री सफा देखिनोस् ।  हाम्रो प्रधानमन्त्री उज्यालो देखिनोस् । हाम्रो पनि चाहाना यही छ । जनताको चाहाना पनि यही छ । तर प्रधानमन्त्रीको आत्माश्लाघा हेर्नुहोस् त, ऐनाको अगाडि उभिएर दाग देख्दै गर्दा प्रधानमन्त्री भन्नुहुन्छ ऐनामा भएको फोहोरलाई मेटा भन्नुहुन्छ ।’

बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरुले उभिएर विरोध जनाएपछि सभामुख कृष्णबहादुर महराले थापालाई बोल्नका लागि समय उपलब्ध गराउनुभएको थियो ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

3 Comments

  • Birbhadra Acharya

    Feb. 4, 2019, 8:50 a.m.

    गगनजी तपाईंले पनि एकपटक आफ्नो अनुहार ऐनामा हेर्दा हुन्छ। गगनजी ! तपाईमा भएको उर्जा नेकाको अन्य साँसदहरूमा छैनन् नै । तपाईंले उठाएका विषयहरू पनि असान्दर्भिक छैनन् । तर मलाई विडम्बना लाग्छ र उदेक पनि लाग्छ, तपाईं जस्तो विचारसिल साँसद पनि कहाँ हराइ रहनु भएको छ । तपाईंले मेरो यो कमेन्ट हेर्नु होला नहोला आफ्नो ठाउँमा छ । तपाईंले तल उठाउनु भएका बिषयहरु पक्कैपनि गहन छन् । डा केसी को माग महत्वपूर्ण छ । तर तपाईहरूले सम्पुर्ण नेपालीको चासोको विषय भने छुटाइरहनु भएको छ । केहि दिन अघि दैनिक खबर पत्रिकाहरूमा पढ्नु भएकैले होला, किसानहरूले न त आफ्नोे लगानी , न त आफ्नो मिहेनतको सहि मुल्य पाइरहेका छन् । खवर पढ्नु भयो । ए यस्तो भएछ भनेर पत्रिकालाई थन्क्याइदिनुभायो र भोलीको डा केसी को मागमा एक्यबद्धता जनाउने आन्दोलनको बारेमा फेरि एक पटक होमिनुभयो । हो डा केसी जस्तो योगिकोले उठाएका मुद्धा महत्वपूर्ण छ जस्मा मेरो पनि पुर्ण समर्थन छ । यो माग पुरा हुँदा धेरै नेपालीहरुले स्वास्थ्य शिक्षा तथा सेवा मा सजिलो पहुँच पाउने छन् । उहाँको मागमा समर्थन छ । तर मेरो विचारमा यो भन्दा पनि गहन विषय भनेको कृषकहरू र उपभोक्ताले हाल झेल्नु परेको आजको कृषि बजारको अवस्था छ । न त कृषकले आफ्नो उपजको सहि मुल्य पाए न त उपभोक्ताले सस्तोमा उपभोग गर्न नै पाए । भारतिय तरकारी र विचौलियाको मारमा सम्पुर्ण देश बासि परिरहेको विषयको यो । यो मुद्दा हरेक घर घरको हो, बच्चा, जवान र बुढाको हो, विरामी तथाा स्वस्थ सवै नागरिकको चासोको विषय हो यो । तर पनि यस्तो समग्र जनताको चासोको विषयमा पनि आन्दोलन को त कुरै छोडौँ तपाईं जस्तो विचारसिल सांसदको सस्तो टिप्पणी वाहेक अन्य केहि सान्दर्भिक कुरा आउँदैन ।या त तपाईहरु नेपालि र सरकार संग जति कुर्ले पनि भारत संग घुँडा टेक्नु हुन्छ या फेरि ठुला व्यापारको फन्दामा हुनुहुन्छ या तपाईहरूलाई यो विषयमा गम्भीर चासोनै छैन । किन भारतीय आयातमा रोक लाग्दैन, किन कृषि उपजमा भण्डारणको व्यवस्था हुन सक्दैन, किन प्रविधिको प्रयोग बाट कृषि उपजको भ्यालु एडिसन गर्न सकिँदैन । सरकारले कृषिमा बेकारको नगद सबसिडि दिनुको साटो भन्चर क्यापिटल मोडलमा प्रविधि तथा पुँजी हस्तान्तरण गर्न सक्दैन । खालि खाने र ख्वाउनेमा मात्र वसेर कृषिको विकास हुँदैन । र जबसम्म यो देशमा कृषिले उचित सम्मान र ठाउँ ( हाल पनि ३३% कुल गार्हस्थ्य उत्पादन ओगटेको) पाउँदैन तव सम्म देशको विकास भाषणमा मात्र हुन्छ । तपाईं कुर्लिन छोड्नु हुन्न, नेपालि जनताले तालि पनि वजाइ रहन्छन् । तर देश झन् झन् रुग्ण र परनिर्भर हुँदै जान्छ । तपाईंको भाषणमा अझै दम वढ्छ । ताली झन्झन् जोडले बज्न थाल्छ । जय नेपाल ।

  •  0 Reply
  • नरविन साउद

    Feb. 3, 2019, 9:49 p.m.

    एकदम सहि

  •  0 Reply
  • Ib karki

    Feb. 3, 2019, 6:38 p.m.

    Mr. G. Thapa supposed to be a potential leader seems to be crossing the limit as he is mostly engaged in using abusive language against the high Govt officials including the PM. It is neither gentlemanly nor being professional thus loosing the credibility as an educated brat. He has never made a positive comment about present Government, does that mean, there is nothing positive happening in Nepal under present Government! Waste of time!

  •  0 Reply

तपाईको प्रतिक्रिया