उरुग्वे र रुस विश्वकपको नकआउट चरणमा, साउदी र इजिप्ट बाहिरिए

 असार ६, २०७५ बुधबार २२:५७:४५ | एजेन्सी

रुस र उरुग्वे विश्वकप फुटबलको समूह ए बाट नकआउट चरणमा प्रवेश गरेका छन् ।

समूहको दोस्रो खेलमा आज उरुग्वेले साउदी अरवलाई १–० गोलले हराएपछि उरुग्वेसँगै रुस पनि नकआउट चरणमा प्रवेश गरेको हो ।

समूहको सुरुवाति दुई खेलमा जित हासिल गरेको दुवै टोलीको समान ६ अंक छ भने जित हासिल गर्न नसकेको इजिप्ट र साउदी अरेबियाले अंक जोड्न सकेका छैनन् । समूहको अन्तिम खेल रुस र उरुग्वेबीच हुनेछ यही खेलबाट समूह विजेताको टुंगो लाग्नेछ ।

आज साउदी अरेबियाविरुद्धको उरुग्वेको जितमा पहिलो हाफको २२औं मिनेटमा लुइस स्वारेजले गरेको गोल नै निर्णायक बन्यो । कर्नर प्रहार क्लियर गर्ने क्रममा साउदीका गोलरक्षक बिट भएको अवस्थामा गोललाइन नजिकैबाट स्वारेजले बललाई जाली चुमाएका थिए ।

यसैबीच साउदीविरुद्धको खेलसँगै उरुग्वेका सुपरस्टार लुइस स्वारेजले राष्ट्रिय टिमका लागि १०० खेलको कोशेढुंगा पार गरेका छन् ।

उनले १००औँ खेलमा गोल पनि गर्न सफल भए । स्पेनिस क्लब बार्सिलोनाका ३१ वर्षीय स्ट्राइकर स्वारेजले राष्ट्रिय टोलीका लागि १०० खेलमा ५२ गोल गरेका छन् । जसमा ६ विश्वकप गोल पनि समावेश छ ।

उनी लगातार तीन विश्वकपमा गोल गर्ने एक्ला उरुग्वेली खेलाडीसमेत बनेका छन् । उरुग्वेले गरेको पछिल्ला १५ विश्वकप गोलमध्ये ८ गोलमा स्वारेजको प्रत्यक्ष संग्लग्नता छ । ६ गोल गरेका छन् भने २ गोलका लागि पास उपलब्ध गराएका छन् ।
समूह ए का दुई टो ली साउदी अरेबिया र इजिप्ट भने आफ्नो एक खेल्न बाँकी रहेको अवस्थामा नै समूह चरणबाटै बाहिरिएका छन् ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया