अभिनाश र पारस दाइलाई बधाई दिन चाहन्छु : सन्दीप लामिछाने

 माघ २०, २०७५ आइतबार २१:४२:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – यूएईविरुद्धको एक दिवसीय र टी–२० सिरिज जितेको नेपाली क्रिकेट टिम भोलि स्वदेश फिर्ता हुने भएको छ । 

२ साताअघि तीन वटा एक दिवसीय र तीन वटा टी–२० सिरिज खेल्न गएको नेपाली टोली दुवै सिरिज २–१ ले जितेर फर्कन लागेको हो ।

नेपाली क्रिकेट टिम भोलि अपरान्ह साढे ३ बजे काठमाण्डौ आइपुग्ने छ । नेपालले सिरिज जित्दा ऐतिहासिक सफलता प्राप्त गरेको छ । सन्दीप लामिछाने भने यूएईबाटै बिग ब्याश लिग खेल्न अष्ट्रेलिया जानेछन् ।

नेपालको ऐतिहासिक जितपछि के भन्छन् त सन्दीप ?

व्यक्तिगत रुपमा म एकदमै खुशी छु  । पहिलो खेल हारेपछि हामीलाई केही चुनौती थियो । जुन तरिकाले हामीले एक दिवसीय र टी–२० मा कमब्याक गर्यौँ , त्यो हाम्रा लागि एकदमै उत्कृष्ट रह्यो ।

यो सिरिजमा एउटा खेलाडी मात्रै चलेको छैन । यसमा सबैको उत्तिकै मेहनत परेको छ । सबैले राम्रो प्रदर्शन गरेका छन् । आजको खेल हाम्रा लागि झनै अविस्मरणीय रह्यो । पहिलो ओभर मेडन गयो । त्यसले केही अप्ठेरो गरे पनि सबै ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्नुभयो । बलिङमा पनि हामीले राम्रो प्रदर्शन गर्न सफल भयौँ । सुरुमा यूएईका ब्याट्सम्यानले हामीमाथि दबाब बनाउन कोसिस गरे पनि हामी सबैको इफोर्टले राम्रो प्रदर्शन गर्यौँ । 

युवा खेलाडीका लागि यो सिरिज कत्तिको महत्वपूर्ण थियो ?

युवा खेलाडीहरुका लागि यो सिरिज एकदमै महत्वपूर्ण थियो । भर्खरै टिममा स्थान बनाएका युवा खेलाडीहरुले यसमा राम्रो प्रदर्शन गरेका छन् । अब युवा खेलाडीहरुका लागि खास चुनौती सुरु हुने छ । किनभने युवा खेलाडीहरुले आउने सिरिजमा पनि आफूलाई प्रमाणित गर्नु पर्छ ।

यूएईसँगको सिरिजबाट जति पनि हामीले सिकेर गएका छौँ त्यो आगामी दिनमा हाम्रा लागि निकै नै महत्वपूर्ण हुने छ । म, अभिनाश बोहरा र कप्तान पारस दाइलाई  हार्दिक बधाई पनि भन्न चाहन्छु । अभिनाश टी–२० को म्यान अफ् दी सिरिज भएका छन् भने पारस दाइ एक दिवसीय सिरिजको म्यान अफ् दी सिरिज हुनुभयो । 

अभिनाश बोहराले पहिलो सिरिजमै म्यान अफ् दी सिरिज भएर आफूलाई प्रमाणित गरेका छन् । 

सन्दीपको अबको यात्रा कता ?

म अहिले अष्ट्रेलियामा जारी बिग ब्याश क्रिकेट खेल्न जान्छु । त्यहाँ मैले सेमिफाइनल र फाइनल खेल्नेछु  ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया