मलाई त हाम्रो स्कोर १०४ रन पुग्छजस्तो लागेकै थिएन, सबैको इफोर्टले राम्रो स्कोर बन्यो : पारस खड्का

 माघ २०, २०७५ आइतबार २२:५०:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –यूएईविरुद्धको एक दिवसीय र टी–२० सिरिज जितेको नेपाली क्रिकेट टिम भोलि स्वदेश फिर्ता हुने भएको छ । 

२ साताअघि तीन वटा एक दिवसीय र तीन वटा टी–२० सिरिज खेल्न गएको नेपाली टोली दुवै सिरिज २–१ ले जितेर फर्कन लागेको हो । नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काको यो सिरिजमा कप्तानी भूमिका अब्बल रह्यो ।

एकदिवसीय शृङ्खलामा त पारसले शतक नै प्रहार गरेर नेपाली क्रिकेटको इतिहासमा कीर्तिमान राखे । त्यस्तै एकदिवसीय शृङ्खलामा उनी म्यान अफ् दी सिरिज पनि बने । 

एकदिवसीय र टी–२० दुवै शृङखला जितेपछि कप्तान पारस खड्का के भन्छन् ?

आजको प्रदर्शनबाट हामी निकै उत्साहित भएका छौँ । तीन वटा खेलको सिरिज २–१ ले जितेका छौँ । पहिलो खेलमा पराजित भए पनि कमब्याक गर्न सफल भयौँ र सिरिज पनि जित्यौँ ।

आज मौसमले केही अप्ठेरो गरे पनि ब्याटिङ बलिङ दुवैमा हामीले राम्रो प्रदर्शन गर्न सक्यौँ र सिरिज पनि हात पार्न सफल भएका छौँ । यस्तो प्रदर्शनलाई आगामी सिरिजहरुमा पनि निरन्तरता दिने प्रयासमा हुनेछौँ ।

गेम कतिबेला चेञ्ज भयो त ?

दश ओभरमा १०४ रन । गेम जतिबेला पनि चेञ्ज हुन सक्थ्यो । यस्तोमा हरेक ओभरमा बाउन्ड्री हान्नै पर्ने जरुरी हुन्छ । हामीले बीचमा एक दुई ओभर टाइट राख्नासाथ हामी खेलमा फर्किएका थियौँ । १० ओभरमा कस्ले राम्रो गर्यो कस्लो राम्रो गरेन भन्दा पनि हामी सबै मिलेर खेल जित्न सफल भयौँ ।

करण केसी, अभिनाश बोहराले बलिङमा राम्रो प्रदर्शन गरे । साथसाथै, सोमपाल, सन्दीप सबैको भूमिका प्रशंसा योग्य नै छ । पहिलो ओभरमा सन्दीपले धेरै रन खाए पनि दोस्रो ओभरमा राम्रो बलिङ गरे । हाम्रो आजको जितको आधार भनेको फिल्डिङ हो । आजको प्रदर्शनबाट एकदमै खुशी लागेको छ ।

लास्ट ओभरमा स्पिनर प्रयोग गर्नु कतिको चुनौती थियो ?

यो कुरा जित्दा खेरी सबै राम्रो देखिन्छ । त्यही खेल हारेको भए यस्तो गरेको भए हुने थियो भन्ने कमेन्ट हुन्छ । हामीलाई बलरसँग पूर्ण विश्वास थियो । हामीले प्रेसर राम्रोसँग ह्याण्डल गर्न सक्यौँ र प्रतियोगिता पनि जित्न सफल भयौँ ।

पहिलो ओभरमा एक विकेटसहित मेडन, कस्तो प्रेसर भयो ?

मलाई त हाम्रो स्कोर १०४ पुग्छ जस्तो लागेको थिएन । ८०–९० तिरै रोकिन्छौँ की जस्तो लागेको थियो । तर सबैले इफोर्ट लगाएर राम्रो खेल्यौँ र स्कोर सम्मानजनकरुपमा अघि बढ्यो । हाम्रा लागि प्रत्येक बल एकदमै महत्वपूर्ण थियो ।

अभिनाश बोहराको प्रदर्शन कस्तो लाग्यो ?

उसले आफूलाई घरेलु क्रिकेटमा प्रमाणित गरेकाले टिममा ल्याएका थियौँ । अवसर पाउँदा यहाँ पनि उसले आफूलाई प्रमाणित गरेको छ । पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा उसलाई यो प्रदर्शनले प्रेसर ह्याण्डल गर्ने क्षमता दिएको छ । यो त सुरुआत मात्र हो । हामी अब पनि धेरै उत्साहित हुन जरुरी छैन् । आगामी दिनमा आशा गरौँ की योभन्दा पनि राम्रो खेल खेलौँ ।

समग्रमा सिरिजबाट के पाएर फर्किँदैछ त नेपाल ?

हामीले राम्रो टिम पाएका छौँ । दोस्रो सहभागितामा सिरिज जित्न सफल भएका छौँ । यसले हामीलाई अझै आत्मविश्वासी बनाएको छ । हाम्रा लागि यो सिरिज किन पनि महत्वपूर्ण छ भने विश्वकप छनोंट आउँदै छ । यसले पक्कै पनि हामीलाई थप फाइदा पुग्ने छ । त्यसका लागि हामीले तीन चार महिनाअघि देखिनै प्लानिङ गर्ने छौँ ।
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया