निजगढ विमानस्थल कतारले बनाउने सम्भावना, आयोजनाका सबै विवरण  कतार सरकारलाई पठाइयो

 माघ २१, २०७५ सोमबार १२:४३:८ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डौ – निकै लामो विवादमा अल्झिएको नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढ कतारले बनाइदिने सम्भावना बढेको छ । 

विमानस्थलको सबै चरणको काम पूरा गर्न ४ खर्ब र पहिलो चरणको काम पूरा गर्न डेढ खर्ब रुपैयाँ लाग्ने भएपछि नेपालले सहयोगी खोजिरहेको थियो । नेपालले सहयोगी खोजिरहेकै बेलामा कतारले निजगढ विमानस्थल बनाउन इच्छा देखाएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । 

गएको कात्तिकमा राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणका समयमा यो विषय उठे पनि औपचारिक रुपमा भने कतारले गएको महिना मात्रै विमानस्थल बनाउने इच्छासहित मन्त्रालयमा पत्राचार गरेको थियो ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका सबै विवरण कतारमा

कतारले निजगढ विमानस्थल बनाउन इच्छा देखाएर जानकारी मागेपछि सरकारले विमानस्थल निर्माणको प्रगतीसहितका वितरण कतारस्थित नेपाली दूतावासमार्फत कतार सरकारलाई पठाएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतले जानकारी दिएको छ । 

विमानस्थलको सम्भाव्यता अध्ययन गरेको कोरियन कम्पनी ल्याण्डमार्क वर्ल्डवाइडको रिपोर्ट, विभिन्न समयका भएका अन्य अध्ययन, संसदीय समितिले गरेको प्रतिवेदनलगायतका प्रतिवेदन दूतावासमार्फत कतार पठाइएको पनि मन्त्रालय उच्च स्रोतले जानकारी दिएको छ । 

स्रोतका अनुसार विमानस्थल निर्माण मात्रै नभएर कतारले केही वर्षसम्म पनि चलाउने गरी नै सम्झौता गर्न खोजेको छ । ‘गभर्मेन्ट टू गभर्मेन्ट’ अर्थात ‘जी टू जी’ मोडलमा विमानस्थल बनाउनको लागि कतार इच्छुक देखिएको छ । 

‘अहिले नै वर्ष तोकिएको छैन, तर कतारले नै बनाउने र १०-१५ वर्षसम्म चलाउने खालको सामान्य अवधारणा बनेको छ, यो बारेमा धेरै चरणका कुरा हुन बाँकी छ’, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रलाय स्रोतले उज्यालो अनलाइनलाई जानकारी दियो । 

२०६५ सालमा कोरियन कम्पनी ल्याण्डमार्क वर्ल्डवाइड अर्थात एलएमडब्ल्यूले निजगढ विमानस्थल स्वामित्व, निर्माण र हस्तान्तरण अर्थात बुट मोडलमा बनाउन उपयुक्त हुने सुझावसहितको अध्ययन प्रतिवेदन सरकारलाई बुझाएको थियो ।

तर विमानस्थल सार्वजनिक निजी साझेदारी पीपीपी मोडलमा पनि बनाउन उपयुक्त हुने भन्दै अर्थ मन्त्रलाय र पर्यटन मन्त्रालयबीच पटक–पटक छलफल हुँदै आएको छ ।

कतारले विमानस्थल बनाउन चासो देखाएको र विमानस्थल आयोजनाको लागि भएका अध्ययनसहितको विवरण माग गरेपछि नेपालले पनि त्यसलाई उच्च महत्व दिएको छ । कतारको प्रस्तावलाई उच्चस्तरीय तहमा छलफल गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी कतार जाने तयारी गर्नुभएको छ । 
कतारले विमानस्थल बनाउन चासो देखाएको र नेपालले पनि उच्च तहमा छलफल गर्न थालेकाले निजगढ विमानस्थलको काम अघि बढ्ने सम्भावना बढेको छ ।


भारतमा ६ वटा अन्तर्राष्ट्रिय स्तरका विमानस्थलहरु बुट मोडलमा निर्माण भएको छ । नयाँ दिल्लीको इन्दिरा गान्धी, बैंग्लोर, मुम्बै, गोहालगायतका विमानस्थल पीपीपी मोडलमा निर्माण भएका हुन् । 

हाल निर्माणमा चरणमा रहेका अन्य विमानस्थलहरु पनि पीपीपी मोडलमानै निर्माण भइरहेका छन् ।  भारतले अन्तर्राष्ट्रिय हवाई संगठन (आईकाओ) को बैठकमै विश्वभरका विमानस्थल पीपीपी मोडलमा निर्माण गर्नुपर्ने प्रस्ताव राख्दै आएको छ ।

पीपीपी मोडलमा जाँदा सबै जिम्मा त्यही कम्पनीले लिने र आवश्यकता अनुसार विमानस्थल निर्माण सुरु गर्ने भएकोले पनि त्यही मोडल निजगढलाई पनि राम्रो हुने निष्कर्ष अर्थ र पर्यटन मन्त्रालयको हो । 

३ हजार ६ सय मिटर लामो र ४५ मिटर फराकिलो तथा दोहोरो धावन मार्ग हुने विमानस्थलमा विश्व बजारमा उत्पादन भएका सबैजसो अत्याधुनिक वाइडबडी जहाजहरु उडान/अवतरण गर्न सक्नेगरी बनाउने तयारी छ ।
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया