विपद् जोखिम न्यूनीकरणसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन सम्पन्न

 असार ७, २०७५ बिहिबार ७:४५:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - जोखिमबाट उत्थानशिलता ( रिस्क टु रेजिलिएन्स) विषयक विपद् जोखिम न्यूनीकरण सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन काठमाडौं घोषणापत्र जारी गर्दै सकिएको छ ।

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनको क्षेत्रमा कार्यरत विश्वका १२ देशका दुई सय भन्दाबढी विज्ञ सहभागी रहेको सम्मेलनले विपद् जोखिम कम गर्न घोषित विश्वव्यापी कार्य संरचनाका प्राथमिकतालाई क्रमैसँग कार्यान्वयन गर्न कार्ययोजना तयार पारेको छ । 

सम्मेलन तीन दिनसम्म चलेको थियो । 

सेन्दाई कार्यसंरचनाले प्राथमिकतामा राखेका मुख्य चार विषयका सम्बन्धमा सरकारी, गैरसरकारी तथा वैज्ञानिक अनुसन्धान संस्थाबीचको समन्वयलाई अझ प्रभावकारी बनाउने निर्णय गर्दै सम्मेलनले कार्यसंरचनाले राखेका लक्ष प्राप्तिका लागि कार्ययोजना तयार पारेको हो । 

सरकारी, गैरसरकारी, निजी तथा साझेदार संस्थाहरुको भूमिकाहरुलाई प्रकाश पार्दै सम्मेलनले कार्ययोजना तयार पारेको हो ।

नेपालमा विपद् व्यवस्थापनबाट विपद् जोखिम व्यवस्थापन, क्षति लेखाजोखाबाट संकटासन्नता लेखाजोखा, उद्धार तथा पुनस्र्थापनाबाट जोखिम न्यूनीकरण गर्ने तर्फ अग्रसर हुने सम्मेलनको निश्कर्ष छ । 

साथै सेन्दाई कार्यसंरचना, दीगो विकास लक्ष्य, पेरिस समझदारी लगायत विश्वव्यापी कार्यसंरचनाहरुको प्रभावकारी कार्यान्वयनको लागि विश्वसमुदायमा सम्मेलनले अपिल समेत गरेको छ । 

सन् २०४० भित्र सम्पादन गर्नुपर्ने गरी विपद् जोखिम न्यूनीकरणका नयाँ कार्यक्रमको विकास गरी कामहरुको प्राथमिकीकरण र कार्यान्वयन गर्ने सम्मेलनको जोड रहेको सम्मेलन आयोजक संस्था भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट)ले जनाएको छ । 

सम्मेलनले नेपालमा विद्यमान भूकम्प, बाढीपहिरो, आगलागी लगायतका सबैखाले प्रकोपहरुको व्यवस्थापन गर्न नेपाल सरकारको नेतृत्वमा १५ वर्षे थप नयाँ राष्ट्रिय कार्यक्रमको विकास गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ । 

विपद्को समयमा खोज, उद्धार, पुनर्निर्माण तथा पुनस्र्थापनाको कार्यलाई प्रभावकारी बनाउन सबै गाउँपालिका र नगरपालिकाहरुमा स्रोत केन्द्रको स्थापना गर्नुपर्ने र स्थानीय तहमा रहेका विपद् व्यवस्थापन इकाईहरुको प्रभावकारी कार्य संचालन गर्ने कार्य सम्मेलनले प्राथमिकतामा राखेको छ ।

त्यसको लागि स्थानीय तहको क्षमता अभिवृद्धि गर्न सहयोग गर्ने र सबै गाउँपालिका तथा नगरपालिकाहरुमा जोखिम संवेदनशील भू–उपयोग योजना बनाउन सहकार्य गरिनेछ ।

विपद् जोखिम न्यूनीकरणका लागि नेपालले गरेका प्रयत्न र अभ्यासहरुको प्रशंसा गर्दै सम्मेलनले कम्तिमा ५ प्रतिशत बजेट विपद् जोखिम न्यूनीकरणका लागि विनियोजन गर्न आग्रह गरेको छ ।

साथै विद्यमान संरचनालाई विपद्बाट जोगाउन सन् २०३५ सम्म नेपालमा रहेका ५० प्रतिशत स्कुल, स्वास्थ्य संस्था तथा सार्वजनिक भवनहरुको प्रबलीकरण गर्ने गरी काम गर्ने सम्मेलनको निष्कर्ष छ । 

नेपाल सरकार गृह मन्त्रालयको नेतृत्वमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान र भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) ले सम्मेलनको संयुक्त आयोजना गरेका थिए । 

सम्मेलनको समापन गर्दै गृहसचिव प्रेमकुमार राईले हालैमात्र पारित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण ऐन र कार्ययोजना कार्यान्वयनमा यो सम्मेलनले निर्देश गरेको कार्ययोजना पूरक हुने बताउनुभयो । 

यस्तै, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले सम्मेलनले सबैखाले विपद्को जोखिम न्यूनीकरण र व्यवस्थापनमा दिशानिर्देश गरेको बताउनुभयो । 

उहाँले नेपालको सफल पुनर्निर्माण विश्वलाई उदाहरण हुने दावी गर्नुभयो । 

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा. डा. जीवराज पोखरेलले सम्मेलनले आफूहरुलाई ठूलो जिम्मेवारी सुम्पेको बताउनुभयो । 

भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) का महासचिव डा. आमोदमणि दीक्षितले यस प्रकारको सम्मेलन नेपाल आफैँले आयोजना गरेर उदाहरण पेश गरेको भन्दै सम्मेलनमा उठेका विषयबारे प्रतिवेदन पेश गर्नुभएको थियो । 


 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया