क्यान निलम्बन फुकुवा चाँडै : मन्त्री विश्वकर्मा

 माघ २२, २०७५ मंगलबार १३:२९:५२ | रासस
unn.prixa.net

काठमाण्डौ – युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले छिटै नेपाल क्रिकेट सङ्घ (क्यान)माथि लगाएको निलम्बन फुकुवा गर्ने बताउनुभएको छ । 

रिपोर्टर्स क्लब नेपालले आज गरेको साक्षात्कार कार्यक्रममा मन्त्री विश्वकर्माले आईसीसीले दिएको मार्गचित्रअनुसार क्यानको पाँच सदस्यीय तदर्थ समिति गठन गरेर नयाँ नेतृत्वका लागि चुनावको तयारी भइरहेको जिकीर गर्नुभयो । 

साधारणसभा तथा नयाँ नेतृत्व चयनको विषयलाई लिएर देखिएको क्यान विवादले उग्ररूप लिएपछि आईसीसीले २०७३ वैशाखमा क्यानलाई निलम्बन गरेको थियो । आईसीसीले भनेअनुसार विधान संशोधन पनि भइसकेको स्मरण गराउँदै मन्त्री विश्वकर्माले क्यानका निर्वाचित पदाधिकारीले अदालतमा मुद्दा हालेकाले निलम्बन फुकुवा गर्न ढिलाइ भएको बताउनुभयो । 

सरकारकै पहलमा निर्वाचित पदाधिकारीलाई मुद्दा फिर्ताको निवेदन दिन लगाइसकिएकाले अब प्रक्रियागत ढङ्गले क्यानमाथिको निलम्बन फुकुवा हुने मन्त्री विश्वकर्माको भनाइ थियो । 

निलम्बनपछि क्रिकेट खेलाडीले पाउँदै आएको पारिश्रमिक रोकिएको थियो । आइसिसीको निलम्बनमा पर्नुअघि क्यानले खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ गरी तीन श्रेणीमा वर्गीकरण गरी सम्झौता गरेर सन् २०१५ को जनवरीदेखि मासिक तलब दिन सुरु गरेको थियो । तर, निलम्बनमा परेसँगै क्यानले खेलाडीको तलबसमेत रोकेको छ । 

‘ए’ श्रेणीमा पर्ने खेलाडीले मासिक ३५ हजार रुपैयाँ, ‘बी’ श्रेणीका खेलाडीले मासिक २५ हजार रुपैयाँ र ‘सी’ श्रेणीका खेलाडीले मासिक १५ हजार रुपैयाँका दरले पछिल्लो दुई वर्षको तलब पाएका छैनन् । 

हिजो बसेको मन्त्रिपरिषद् बैठकले यूएईविरुद्धको टी–२० र एक दिवसीय शृङ्खला जितेर आएका खेलाडीलाई जनही पाँच लाख रुपैयाँ दिएर सम्मान गर्ने निर्णय गरेको पनि मन्त्री विश्वकर्माले त्यस अवसरमा जानकारी दिनुभयो । 

खेलाडीलाई खेल्ने उचित वातावरण, पूर्वाधार र पारिश्रमिकका लागि सरकार प्रतिबद्ध रहेको भन्दै उहाँले खेलाडीलाई खेलेर भविष्य सुनिश्चित गर्नसक्ने अवस्थामा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया