कश्मीर विवाद भारतसँग वार्ताकै माध्यमबाट समाधान गर्नुपर्छ : पाकिस्तानी राजदूत जावेद

 माघ २२, २०७५ मंगलबार १४:८:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले कश्मीरलगायत पाकिस्तान र भारतबीचको सम्पूर्ण समस्या वार्ताकै माध्यमबाट समाधान गर्नुपर्छ भन्नेमा आफ्नो देश दृढ रहेको बताउनु भएको छ । 

सन् १९४७ मा कश्मीरमा भारतीय सैनिकको आक्रमणमा परि मारिएका हजारौँ नागरिकको सम्झनामा नेपालस्थित पाकिस्तानी दूतावासले मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले संयुक्त राष्ट्र संघले पारित गरेको प्रस्ताव र तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले कश्मीरी नागरिकको स्वनिर्णयको अधिकारको सम्मान गर्ने लिखित प्रतिबद्धता अझै कार्यान्वयन गर्न भारत तयार नभएको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नुभयो । 

दक्षिण एसियाको शान्ति, विकास र स्थायित्वका लागि भारत–पाकिस्तानबीचको तनाव अन्त्य हुनुपर्ने राजदूत जावेदको भनाई छ । त्यस अवसरमा राजदूत जावेदले नेपाललाई पाकिस्तानले असल भित्रको रुपमा लिएको पनि स्पष्ट पार्नुभयो ।

सन् १९४७ मा भारतीय सेनाले आफ्नो नागरिकलाई आक्रमण गरी मारेको स्मरण गर्दै पाकिस्तानले फेब्रुअरी ५ लाई कालो दिवसको रुपमा मनाउने गर्दै आएको छ । राजदूत जावेदले कश्मीरमा आक्रमण बन्द गरेर शान्तिको पक्षमा उभिन पनि भारतलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका सांसदहरु, पूर्व राजदूतहरुलगायतको उपस्थिति रहेको थियो । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया