रुकुम पूर्वका मतदाताले फिर्ता मागे चुनावमा दिएको भोट !

 माघ २२, २०७५ मंगलबार १५:२५:१८ | राजु लामिछाने
unn.prixa.net

रुकुम पूर्व –आफैले जिताएका सांसदहरुविरुद्ध मतदाता विरलै सडकमा आउँछन् । विरोधका लागि उनीहरुले नाराजुलुस, सभा, बन्द हड्तालजस्ता कार्य पनि कमै मात्रामा गर्दछन् ।

तर रुकुम पूर्वका केही मतदाता भने आफूले दिएको मत फिर्ताको माग गर्दै आन्दोलनमा उत्रिएका छन् । 

जिल्ला सदरमुकाम विवादले तनावग्रस्त रुकुम पूर्वको गोलखाडा सदरमुकामका पक्षधरहरु गएको चुनावमा दिएको मत फिर्ताको माग गर्दै हस्ताक्षर संकलन कार्यमा जुटेका छन् । 

पुथाउत्तरगंगाका १४ वडा र भूमेका तीन वडाका नागरिकले गोलखाडा सदरमुकामको पक्षमा मत जाहेर गर्दा पनि संघीय तथा प्रदेश सांसदहरु केही नबोलेको भन्दै मत फिर्ताको मागसहित हस्ताक्षर अभियान थालिएको स्थानीय अगुवा पुणीराज घर्तीले जानकारी दिनुभयो । सेतो कपडामा मतदाताको हस्ताक्षर संकलन गरेर प्रतिनिधिसभाको संसद सचिवालय र प्रदेश सभाको सचिवालयमा पेश गरिने उनीहरुको भनाइ छ ।

संघीय सांसद कमला रोका तथा यो क्षेत्रमा प्रदेश सांसद तेजबहादुर ओली ‘प्रतीक’ हुनुहुन्छ । सांसदहरुले भने आफूहरुले मुद्दा अदालतमा विचाराधीन रहेकाले अहिले केही गर्न सक्ने अवस्था नरहेको भन्दै संयमित बन्न आन्दोलनकारीलाई अनुरोध गरेका छन् ।

यसअघि नै कांग्रेस सरकारले सरमुकामबारे विवादित निर्णय गरेपछि समस्या आएको  र  सहमतिका लागि निरन्तर लागिरहेको उनीहरुको प्रतिक्रिया रहेको छ । 

रुकुमकोटमा रहेको जिल्ला सदरमुकाम तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ माघ ११ गते पुथा उत्तरगङ्गा गाउँपालिका–१२, गोलखाडामा राख्ने निर्णय गरेको थियो । देउवा नेतृत्व सरकारको त्यस निर्णयविरुद्ध २०७४ माघ १७ मा सर्वोच्चमा रिट दर्ता भएको थियो ।  उक्त रिटको सुनुवाइ गर्दै सर्वोच्चले तत्काल सदरमुकाम नसार्न अन्तरिम आदेश दिएको थियो । 

रिट दर्ता भएको एक वर्षसम्ममा पनि सर्वोच्च सरकार र रिट निवेदकलाइ पटकपटक पेशी र साधारण तरिकाले बोलाए पनि अहिलेसम्म कुनै फैसला भएको छैन ।
 सदरमुकाम विवादको विषयमा छलफल गर्न दुवै पक्षलाई सर्वोच्चले आउँदो माघ २७ गते बोलाएको छ ।

माघ २७ गते नै अन्तिम फैसला हुने आशंकाका बीच रुकुमकोट र गोलखाडा पक्षधरहरुले विभिन्न दबाबमूलक कार्यक्रम गर्दै आएका छन् । 
 

अन्तिम अपडेट: चैत ९, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया