धनगढी प्रिमियर लिगको तेस्रो संस्करणकाे सम्पूर्ण तयारी पूरा

 माघ २३, २०७५ बुधबार १८:१३:४२ | निर्मला खडायत
unn.prixa.net

कैलाली - धनगढी प्रिमियर लिगको तेस्रो संस्करण डीपीएल-३ को तयारी अन्तिम चरणमा पुगेको छ । 

आउँदो माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीको फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

यस संस्करणको सम्पूर्ण तयारी पूरा भएको बताउँदै धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले मैदान तथा प्राविधिक व्यवस्थापनका कामहरु लगभग सकिएको बताउनु भयो । 

मैदान तथा ५ वटा पीच निर्माण सम्पन्न भइसकेको तथा म्याच अफिसियलहरु धनगढी आइपुगेको बताउँदै शाहीले क्रिकेटलाई अझ योजनाबद्ध र व्यवसायिक हिसाबले लैजानको लागि धनगढी क्रिकेट एकेडेमी नयाँ योजनाका साथ आउने गरेको बताउनुभयो । 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद–आईसीसीबाट मान्यता प्राप्त प्रतियोगिता डिपिएल–३ मा धनगढी स्टार्स, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, सीवाईसी अत्तरिया, काठमाण्डौ गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता रहनेछ । 

प्रतियोगिताको कूल पुरस्कार राशी ६० लाख रहेको छ । त्यसमा विजेताले ३० लाख, उपविजेताले १२ लाख, तेस्रो हुनेले ४ लाख तथा चौथो हुने टोलीले २ लाख पाउनेछन् । 

यस्तै प्रतियोगिताको मोष्ट भेल्युएबल प्लेयरलाई गोल्डस्टार सुनको जुत्ता दिइनेछ । 

प्रत्येक खेलका म्यान अफ द म्याचलाई १५ हजार, म्यान अफ द सीरिज, बेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाईसमेत उचित पुरस्कारको व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । 

डीपीएलको तेस्रो संस्करणमा ५ करोड रुपैयाँ लागत खर्च हुने आयोजकको अनुमान रहेको छ । धनगढी प्रिमियर लिग ३ मा वालविवाह विरुद्धका जनचेतनामुलक सन्देशहरु प्रवाह हुने भएका छन् । 

प्रतियोगिताका लागि ५ हजार दर्शक क्षमताको अस्थायी प्याराफिट निर्माण गरिसकिएको छ । 

प्रतियोगिता हेर्न टिकट दर लिग चरणमा ५० रुपैयाँ, प्ले—अफमा ७० रुपैयाँ र फाइनलमा १०० रुपैयाँ तोकिएको छ । टिकट बिक्रीको २० प्रतिशत रकम फाप्ला अन्तरराष्ट्रिय क्रिकेट मैदान निर्माण अभियानलाई छुट्याइने तथा ४० प्रतिशत रकम सहभागी टिमलाई प्रदान गरिने जनाइएको छ । 

धनगढी उपमहानगरपालिका–३ का अध्यक्ष बलबहादुर ऐरले डीपीएलले खेल क्षेत्रको बिकाससँगै खेलाडीहरुलाई हौसला प्रदान गर्ने बताउनुभयो । 

दर्शकको सुविधालाई मध्यनजर राख्दै सुदूरपश्चिम यातायात व्यवसायी संघ, कर्णाली रिभर यातायात संघ र धनगढी उपमहानगरपालिकाको सहयोगमा दैनिक क्याम्पस रोडदेखि फाप्ला क्रिकेट मैदानसम्म निशुल्क बस सेवाको व्यवस्था गर्ने भएका छन् ।


  


 

अन्तिम अपडेट: चैत १४, २०८०

निर्मला खडायत

खडायत कैलालीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया