कसरी मिल्न थाल्यो मौसम विभागको भविष्यवाणी ?

 माघ २४, २०७५ बिहिबार ९:१९:१ | उज्यालो सहकर्मी
unn.prixa.net

माैसमसम्बन्धी स्याटेलाइट तस्बिर - माैसम विभाग

काठमाण्डौ – बिहीबारदेखि देशका धेरै ठाउँमा वर्षा र हिमपात हुन्छ भनेर मौसमविदले तीन दिनअघि नै भविष्यवाणी गरेका थिए । नभन्दै बिहीबार बिहानैदेखि पानी पर्न थाल्यो । 

पहिले–पहिले मौसमविदले गरेको भविष्यवाणी यसरी मेल खाँदैनथियो । पानी पर्छ भनेको दिन घाम लाग्थ्यो, घाम लागेको दिन पानी पर्दथ्यो । तर अहिले मौसम विभागका धेरै भविष्यवाणी मिल्न थालेको छ । कसरी त ?

‘केही वर्षदेखि हामीले आधुनिक प्रविधिमार्फत मौसमको भविष्यवाणी गर्ने गरेका छौँ, त्यसैले तीन दिनसम्मको मौसम कस्तो हुन्छ भनेर पहिल्यै जानकारी दिन्छौँ, जुन भविष्यवाणी मिलिरहेको छ’, जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद वरुण पौडेलले उज्यालो अनलाइनसँग भन्नुभयो ।

बिहानैदेखि अधिकांश ठाउँमा पानी पर्दै, हिमपहिरो जान सक्ने भन्दै सतर्क रहन आग्रह

५, ७ वर्ष अघिसम्म मौसमविद्हरुले परम्परागत प्रविधिमार्फत मौसमको भविष्यवाणी गर्थे । वेदर चार्ट एनालाइसिस अर्थात नक्सामा पहिलेका डाटाहरु तथा उच्चचापीय र न्यूनचापीय क्षेत्र हेरेर मौसमको हिसाब गर्नुपर्ने बाध्यता थियो ।

तर अहिले मौसमविदले परम्परागत विधिसँगै आधुनिक प्रविधिको पनि प्रयोग गर्छन् । कम्प्युटर भूउपग्रहको तस्वीर र वायुमण्डलको अवस्था हेरेर मौसमको भविष्यवाणी गरिन्छ । साथै वेदर चार्ट पनि हेरिन्छ ।

‘स्याटेलाइट इमेजको प्रयोग भएको १०, ११ वर्ष जति भयो, अनि चार, पाँच वर्षदेखि एनडब्ल्यूपी अर्थात सिष्टम न्यूमेरिकल वेदर प्रेडिक्सनको पनि प्रयोग हुन थालेको छ’, अर्का मौसमविद राजु प्रधानांगले जानकारी दिनुभयो ।

यस प्रविधिबाट वायुको बहाव, न्यूनचापीय र अधिकचापीय क्षेत्रको अवस्था लगायतको विश्लेषण र हरहिसाब गरी मौसम भविष्यवाणी गरिन्छ ।

भोलि केही ठाउँमा भारी वर्षा र हिमपात हुने मौसमविद्को अनुमान, पदयात्रामा नजान सुझाव

आधुनिक स्याटेलाइट डिस्ट्रीब्युट सिस्टममार्फत प्राप्त हुने विश्वका विभिन्न स्थानको मौसम जानकारीलाई थप स्रोतको रूपमा उपयोग गरिन्छ । भारतलगायत विभिन्न देशहरूबाट गणितीय प्रविधिबाट प्राप्त हुने मौसम विवरण पनि उपयोगी हुन्छन् ।

यसरी विस्तृत रूपमा विभिन्न वैज्ञानिक प्रविधिको माध्यमबाट अध्ययन तथा विश्लेषणपछि मात्र त्यस दिनको मौसम भविष्यवाणी गरिन्छ ।

यस्तो भविष्यवाणी गर्दा देशलाई साधारणतयाः तीन भागमा अर्थात पश्चिम, मध्य र पूर्वी भेगमा विभाजन गरिन्छ । साथै ती भेगमा देखा पर्न सक्ने मौसमी गतिविधिलाई समेत दृष्टिगत गरी मौसम भविष्यवाणी गरिन्छ ।

यसरी भविष्यवाणी गर्दा देशका विभिन्न ठाउँका साथै छिमेक र विश्वकै मौसम गतिविधिको जानकारी लिनुपर्ने हुन्छ । मौसमविद शान्ति कँडेलका अनुसार देशका विभिन्न ठाउँमा रहेका मौसमी केन्द्रबाट हरेक तीन-तीन घण्टामा मौसमी अवस्थाको जानकारी लिएर अपडेट गर्ने काम हुन्छ ।

मौसमविद्का अनुसार पृथ्वीको सतहदेखि १६ किलोमिटर माथिसम्मका बिभिन्न स्ट्यान्डर्सका तथ्याँक लिएर मौसमी हरहिसाब गरिन्छ । युरोपेली र चिनियाँ भू उपग्रहबाट प्राप्त तस्बिर पनि हेर्ने गरिएको छ ।

यसरी आधुनिक प्रविधिको प्रयोगका कारण हिजोआज मौसमको भविष्यवाणी पनि धेरै मिल्ने गरेको मौसमविदले बताएका छन् । अहिले जल तथा मौसम पूर्वानुमान महाशाखाले तीन दिनसम्मको मौसमी भविष्यवाणी गर्ने गरेको छ । 
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

2 Comments

  • Rajesh

    Feb. 7, 2019, 12:19 p.m.

    Even our mobiles' weather app's forecasting is correct.

  •  0 Reply
  • binod nagarkoti

    Feb. 7, 2019, 10:41 a.m.

    यसको काम नै त्यही हो ...

  •  0 Reply

तपाईको प्रतिक्रिया