इलाम नगरपालिकाले फागुनबाट प्रदूषण कर नलिने

 माघ २४, २०७५ बिहिबार १२:७:४९ | सुजता सुनुवार
unn.prixa.net

इलाम – स्थानीय सरकारले लगाएको प्रदूषण करमा चर्को जनगुनासो आएपछि इलाम नगरपालिकाले हटाउने भएको छ । 

माघमा बसेको कार्यपालिकाको बैठकले पेट्रोलियम पदार्थमा लिँदै आएको प्रदूषण कर हटाउने निर्णय गरेको हो । यो निर्णय फागुन १ गतेबाट लागू गरिने नगरपालिकाले जनाएको छ । 

संघीय सरकारले प्रदुषण कर हटाउन भनेपछि पाँच महिनादेखि लिँदै आएको कर हटाएको नगर प्रमुख महेश बस्नेतले जानकारी दिनु भएको छ । स्थानीय तहले प्रदूषण कर लगाउन पाउने व्यवस्था रहेकाले नगरले कर उठाउन थालेको बताइएको छ । 

गएको भदौ ७ गतेबाट लगाउँदै आएको प्रदूषण कर प्रतिलिटर ५० पैसाका दरले उठाउँदै आएको थियो । त्यस करबापत उठेको १९ पैसा संघीय सरकारलाई बुझाउँदै आएको थियो । पाँच महिनामा नगरपालिकाले पाँच लाख रुपैयाँ प्रदूषण कर संकलन गरेको छ । प्रदुषण कर हटेसँगै घरवहाल कर भने नगरले बढाएको छ । 

सात प्रतिशतले लिँदै आएको कर बढाएर दश प्रतिशत पुर्‍याउने निर्णय कार्यपालिकाको बैठकले गरेको छ । विगतमा संघीय सरकारले दश र स्थानीय तहले दुई प्रतिशत कर लिँदै आएको नगरले जनाएको छ । 

नयाँ संरचना बनेपछि घरवहाल कर संकलनको जिम्मा स्थानीय तहलाई दिइएको छ । 

अन्तिम अपडेट: चैत २०, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया