निर्यात व्यापार बढाउन पहल गर्ने भारतका लागि नवनियुक्त राजदूत नीलाम्बर आचार्यकाे प्रतिबद्धता

 माघ २४, २०७५ बिहिबार १४:३३:४४ | उज्यालो सहकर्मी

काठमाण्डौ - भारतका लागि नवनियुक्त राजदूत निलाम्बर आचार्यले नेपालको निर्यात व्यापार बढाउन आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ । 

भारतका लागि नवनियुक्त राजदुत आचार्यले मुलुकको समृद्धिका लागि निर्यात व्यापारमा जोड दिन आवश्यक रहेकाले आफूले त्यसै कामलाई भारतमा रहँदा प्राथमिकताका साथ अघि बढाउने बताउनु भएको हो ।

बिहीबार नेपाल चेम्बर अफ कमर्सले काठमाण्डौमा आयोजना गरेको नवनियुक्त राजदूतहरुको सम्मान कार्यक्रममा बोल्दै उहाँले आर्थिक कूटनीतिका लागि आवश्यक सुझाव दिन पनि निजी क्षेत्रकमा व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।

आर्थिक कूटनीतिको माध्यमबाट मुलुकमा लगानी भित्र्याउन आवश्यक पहल गर्ने नवनियुक्त राजदूत आचार्यको योजना छ । उहाँले कृषि, पर्यटन, जडिबुटी र जलविद्युत क्षेत्रमा भारतीय लगानी बढाउन पनि आफूले पहल गर्ने बताउनु भयो ।

राजदुत आचार्यले नेपालमा लगानी बढाउन निजी क्षेत्रका व्यवसायीहरुले ठोस योजना बनाउनुपर्ने आवश्यक्ता पनि औंंल्याउनु भयो । कार्यक्रममा विभिन्न मुलुकमा लागि नियुक्त गरिएका राजदूतहरुको पनि सम्मान गरिएको थियो । 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया