पुरातत्वको अनुमतिमा मात्रै पशुपति क्षेत्रभित्रका सम्पदाहरुको पुनर्निर्माण गर्न काठमाण्डौ महानगरपालिकाकाे सुझाव

 माघ २४, २०७५ बिहिबार १५:१२:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ महानगरपालिकाले पुरातत्व विभागको अनुमति लिएर मात्रै पशुपति क्षेत्रभित्र रहेको सम्पदाहरुको पुनर्निर्माणको कामलाई अघि बढाउन पशुपति क्षेत्र विकास कोषलाई सचेत गराएको छ । 

महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले पशुपति क्षेत्रभित्र रहेको विश्वरुपा मन्दिरको संरक्षणमा अझै चासो नदिएको भन्दै पशुपति क्षेत्र विकास कोषको कामकारबाहीप्रति असन्तुष्टि पनि जनाउनु भयो । उहाँले पशुपतिनाथको मृगस्थलीमा रहेको विश्वरुपा मन्दिर वरपरको संरचना पुरानै सामग्री प्रयोग गरेर मात्रै बनाउन पनि सचेत गराउनुभयो ।

बिहीबार बिहान त्यस क्षेत्रको अवलोकन गरेपछि उहाँले सिमेन्ट र रड राखेर जथाभावी खाल्डो खनी त्यहाँको संरचना निर्माण गर्न लागेकोमा आपत्ति जनाउँदै पुरानै सामग्री प्रयोग गरेर सम्पदाहरुको पुनर्निर्माणको कामलाई अघि बढाउन कोषको गम्भीर ध्यानाकर्षण गराउनु भयो ।

पशुपति क्षेत्र विकास कोषले पुरातत्व विभागसँग स्वीकृति लिएर तथा स्थानीय सरकारसँग समन्वय गरेर सम्पदाहरुको पुनर्निर्माणको काम अघि नबढाएकोमा उपमेयर खड्गीको आपत्ति छ ।

उपमेयर खडगीले यसअघि पनि त्यस क्षेत्रको अवलोकन गरी विश्व सम्पदा सूचीमा परेकाे विश्वरुपा मन्दिरको संरक्षणका लागि आवश्यक व्यवस्था गर्न पशुपति क्षेत्र विकास कोषलाई आग्रह गर्नुभएको थियो । तर त्यसको सुनुवाई कोषबाट नभएको उपमेयर खड्गीको गुनासो छ ।

सम्पदा प्रेमीहरुसहित त्यस क्षेत्रको स्थलगत अवलोकनमा पुग्नु भएकी उपमेयर खड्गीले भूकम्प गएको ४ वर्ष पुग्न लाग्दा पनि पशुपति क्षेत्र विकास कोषले विश्वरुपा मन्दिरको संरक्षण गर्न नसकेको, सम्पदाहरुको पुनर्निर्माण गर्दा त्यसको मौलिक तथा सांस्कृतिक पहिचानमा ध्यान दिन नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया