बेञ्च भाँचेको भन्दै प्रधानाध्यापकले निर्घात कुटे विद्यार्थीलाई

 माघ २४, २०७५ बिहिबार १९:५८:५० | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – फिदिममा रहेको फिदिम माविका प्रधानाध्यापकले कक्षा–९ मा अध्यनरत एक छात्रलाई निर्घात कुटपिट गरेका छन् । 

मिक्लाजुङ गाँउपालिका–४ घर भएर फिदिममा डेरा गरी बस्ने रोहित राईलाई प्राधानाध्यापक दुर्गा खत्रीले निर्घात कुटपिट गरेका हुन् । प्रधानाध्यापकको कुटपिटबाट घाइते भएका राइको अहिले जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ ।

राईको टाउकोको भित्री भागमा समस्या देखिएकोले अहिले के भएको छ भनेर भन्न नसकिने अस्पताल स्रोतले जनाएको छ ।

बुधबार कक्षा १० का विद्यार्थीहरुले बेञ्च भाँचेको निहुँमा बिहीबार कक्षा–९ का अन्य साथीहरुलाई पनि प्रधानाध्यापक खत्रीले पालैपालो कुटेको एक विद्यार्थीले बताए । अरुलाई कम पिटे पनि रोहितलाई भने अफिसमै लगेर कुटेको ती विद्यार्थीको भनाइ छ ।

राईले आफूले बेञ्च नभाँचेको भनेर आग्रह गर्दा पनि मुखमुखै नलाग भन्दै मुड्कीले टाउकोको पछाडी भाग र गालामा हानेको अन्य विद्यार्थीहरुले बताए ।

प्रधानाध्यापक खत्रीले भने आफूले विद्यार्थीलाई तर्साउने तरिकाले मात्र कुटेको तर, त्यसरी गम्भीर घाइते हुने गरी नकुटेको र यो विषयलाइ गम्भीर बनाउन खोजिएको बताउनुभयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया