ठग शिक्षकका अभिभावक गोठालो !

 असार ७, २०७५ बिहिबार १५:४४:११ | पुरुषोत्तम गिरी
unn.prixa.net

सल्यान – सल्यानको एक विद्यालयमा विद्यालय नआउने र आएर पनि नपढाउने शिक्षकहरुलाई पारदर्शी बनाउन अभिभावकहरु नै  शिक्षकको गोठालो लाग्न थालेका छन् ।

सल्यानको दार्मा गाउँपालिका–४, भल्चौरमा रहेको कालिका आधारभूत विद्यालयमा बिहान विद्यार्थिहरुसँग अभिभावक पनि विद्यालय जान थालेका हुन ।  बिहान विद्यालय गएका अभिभावकहरु बेलुका विद्यार्थी सँगै घर फर्कने गरेका छन् ।

अभिभावकहरु विद्यार्थीको पढाइ सुधार्न र शिक्षकहरुको अनुगमन गर्न विद्यालय जाने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा दार्मा गाउँपालिका–४, का वडा अध्यक्ष चन्द्रबहादुर रावतले जानकारी दिनुभयो ।

‘अभिभावकहरु विद्यालयमा पुगेर शिक्षकहरु विद्यालयमा आए नआएको सुनिश्चित गर्छन्’, विद्यालय व्यवस्थापन अध्यक्ष रावतले भन्नुभयो, ‘आएका शिक्षकहरुलाई पनि कक्षा कोठामा गए कि गएनन् अनि कक्षा कोठामा पुगेर पनि कसरी पढाए त्यो कुरा हेर्ने काम गरिरहेका छौं ।’

एक महिना अघिदेखि विद्यालयले यो अभियान थालेको हो । सुरुको विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीहरुले विद्यालयको पढाइ गुणस्तरिय बनाउन चौकीदारी गरिसकेका छन् । विद्यालयले यो अभियान थालेको छोटो समयमै विद्यालयको शिक्षामा व्यापक सुधार भएको विद्यालयका प्रधानाध्यापक चक्रबहादुर बोहराले बताउनुभयो ।

‘शिक्षकहरु विद्यालय नियमित आउने र कक्षाकोठामा ४५ मिनेट नै बसेर नियमित रुपमा सिकाउन थालेपछि विद्यालयको पढाइ निकै सुध्रिएको छ’, उहाँले भन्नुभयो, ‘विद्यार्थीहरु पनि अहिले त नियमित रुपमा विद्यालय आउन थालेका छन् ।’

विद्यालयको पढाइ सुधारका लागि अनेक उपाय गरे पनि पढाइमा सुधार नआएपछि यस्तो अभियान सुरु गरेका हौ’, विद्यालय व्यवस्थापन समतिका अध्यक्ष चन्द्रबहादुर रावतले भन्नुभयो, ‘बल्ल अहिले विद्यालय नमुना देखिएको छ ।’

कक्षा ८ सम्म संचालित विद्यालयमा साढे २ सयभन्दा बढी विद्यार्थीहरुले अध्ययन गर्दै आएका छन् । विद्यालयलाई नमुना विपद्यालयको रुपमा विकास गर्नको लागि सेभ द चिल्ड्रेन र दलित विकास समाज सल्यानद्धारा संचालित एकिकृत परियोजनाले सहयोग गरिरहेको छ ।

दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले विद्यालयले संचालन गरेको राम्रो अभ्यासलाई अन्य विद्यालयमा पनि लागू गरिने बताउनुभयो । ‘राम्रो अभ्यास सबैले सिको गर्नुपर्छ’, उहाँले भन्नुभयो, ‘गाउँपालिकाको शैक्षिक सुधारको लागि हामीहरु निरन्तर लागिरहेका छौं ।’

परियोजनाको सहयोगमा विद्यालयले बालविकास केन्द्रमा प्रारम्भीक साक्षरता तथा गणितिय सीप विकास र कक्षा १ र २ मा नेपाली विषयलाई ९० मिनेट सञ्चालन गरिरहेको छ ।

यस्तै परियोजनाले विद्यालयलाई बालमैत्री बसाई व्यवस्थापन, शिक्षकहरुलाई तालिम र शिक्षक तथा विद्यार्थीको सहयोगमा विद्यालयको सुशासनमा सुधार ल्याउन विभिन्न क्रियाकलाप संचालन गर्दै आएको छ ।

विद्यालयका प्रध्यानध्यापक बोहराले कार्यक्रमले प्रदान गरेका सहयोगले विद्यालयको सिकाई उपलब्धि माथि उठाउन र विद्यालयमा सुशासन कायम राख्न निकै सहयोग पुगेको बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत २९, २०८०

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया