एसीसी प्रिमियर कप क्रिकेटको तेस्रो स्थानका लागि नेपालले आज हङ...
बैशाख ८, २०८१ शनिबार
थाइल्याण्डका राजा वाजीरालोङकोर्नले मार्चमा हुन लागेको प्रधानमन्त्री चुनावमा आफ्नी बहिनीको अप्रत्याशित दावेदारीलाई अनुचित बताउँदै भर्त्सना गरेका छन् ।
राजदरबारबाट सार्वजनिक एक वत्तव्यका अनुसार थाई राजाले आफ्नी बहिनीले उम्मेदवारी दिए त्यो देशको संस्कृतिविरद्ध हुने बताएका छन् ।
६७ वर्षीया राजकुमारी उबोलरत्ना माहीदोललाई पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राको सहयोगी पार्टीले उम्मेदवार बनाउने भएको छ । यो घटनाले थाइल्याण्डको शाही परिवार राजनीतिबाट अलग रहने परम्परा पनि अन्त्य हुनेछ ।
विश्लेषकहरुका अनुसार थाई राजाले हस्तक्षेप गर्दै मार्च २४ मा हुने प्रधानमन्त्री चुनावका लागि राजकुमारीलाई अयोग्य घोषित गर्न सक्नेछन् ।
आउँदो चुनावमा सबैको ध्यान गएको छ । किनकी पाँच वर्षको सैन्य शासनपछि यो चुनावले थाइल्याण्डमा लोकतन्त्रको पुनरागमन हुने धेरैले आशा गरेका छन् ।
थाई राजकुमारीको अभूतपूर्व निर्णय, प्रधानमन्त्रीमा उम्मेदवारी दिने घोषणा
राजदरबारका तर्फबाट सार्वजनिक प्रेस वक्तव्यमा भनिएको छ, ‘उनले आफ्नो शाही पद छाडे पनि उनी चाक्री वंशकी सदस्य हुन् । शाही परिवारका कुनै पनि सदस्य राजनीतिमा आउनु देशको परम्परा, मान्यता तथा संस्कृतिको विरुद्ध हुनेछ ।’वक्तव्यमा संवैधानिक व्यवस्थालाई उद्धृत गर्दै राजपरिवार राजनीतिबाट टाढा बस्नुपर्ने बताइएको छ ।
त्यसभन्दा पहिले राजकुमारी उबोलरत्नाले आफूले प्रधानमन्त्री चुनावमा उम्मेदवारी दिने बताउँदै आफू एक साधारण व्यक्तिजस्तै बस्ने गरेको बताएकी थिइन् ।
उनी थाइल्याण्डका दिवंगत राजा भूमिबोलकी ठूली छोरी हुन् । राजा भूमिबोलको सन् २०१६ मा निधन भएको थियो ।
अमेरिकामा अध्ययन गरेकी राजकुमारीले सन् १९७२ मा अमेरिकी नागरिकसँग विवाह गर्दै आफ्नो शाही पद छोडेकी थिइन् । तर अमेरिकी पतिसँगको डिभोर्सपछि उनी सन् २००१ मा थाइल्याण्ड फर्किइन् । त्यसपछि फेरि थाई शाही परिवारसँग उनको उठबस सुरु भयो ।