कलाकारिता छोडेर समाजसेवा, १८ बच्चापछि बल्ल बिहे !

 माघ २६, २०७५ शनिबार ११:२२:१२ | बेदानन्द जाेशी
unn.prixa.net

साँझ ६ बज्नै लाग्दा बालबालिका भजनमा मग्न छन् । अगाडि सरस्वतीको फोटो राखेर कोही भजन गाउँदै छन् त कोही घण्टा बजाउँदै । झट्ट हेर्दा  कुनै मन्दिरजस्तो लागे पनि यो मन्दिर नभएर बाल आश्रम हो, ‘फ्युचर बाल आश्रम गृह’ ।

भजनले बालबालिकामा अनुशासन जगाउने र भविष्यमा नैतिकवान बन्न सहयोग गर्ने कुरामा आश्रमकी सञ्चालिका ३२ वर्षीया रीता शिवाकोटी विश्वास गर्नुहुन्छ ।

सानैमा ‘सेवा ही परमो धर्म’को मन्त्र सिक्नुभयो, त्यही कुरा मनमा गढ्यो । एक दिन सानो बालकले आफ्नो ज्यानको गुहार माग्दै फोनमा बोलेको तोतेबोलीले उहाँलाई भावुक बनायो । त्यो बालकलाई भेटेर आफैंसँग राख्न थाल्नुभयो, अनि आमा बन्नुभयो ।

त्यो क्षणले नै रीताको जीवनमा नयाँ मोड ल्याइदियो । कला र अभिनय क्षेत्रको यात्रा परिवारबाट एक्लिएका बालबालिकाको सेवातर्फ मोडियो ।

जिरे खुर्सानीको टिमसँग मिलेर ‘एक घर एक चर्पी’ भन्ने सडक नाटक गर्ने क्रममा उहाँ मेलम्चीमा पुग्नुभएको थियो । सबै साथीहरु खाजा खाएर आराम गर्दे थिए ।

खाजा खाइरहेका बेला नयाँ नम्बरबाट फोन आयो । फोनमा एउटा तोतेबोली गुञ्जियो, ‘दिदी मलाई मार्न खोज्दैछन्, मलाई बचाउनुस् न प्लीज, म हजुरसँगै जान्छु ।’ त्यतिबेला रीता वृद्धाश्रमहरुमा स्वयंसेविकाको काम पनि गर्नुहुन्थ्यो । त्यही भएर उहाँको साथीले यसलाई फोन गर्यो भने केही त गर्छ होला भनेर त्यो बालकलाई फोनमा बोल्न लगाउनुभएको रहेछ ।

बालकको फोन आएको त्यो रातभर उहाँलाई निद्रा लागेन । भोलिपल्टै त्यो बालकलाई भेट्नुभयो, अनि कानुनी प्रक्रिया पुर्याएर आफूसँगै ल्याउनुभयो । त्यतिबेला रीता आफ्नो बहिनीसँगै भक्तपुर काँडाघारीमा कोठा भाडामा लिएर बस्दै आउनुभएको थियो । 

काठमाण्डौमा बसेर कलाकारिता क्षेत्रमा संघर्ष गर्दै गर्दा एक अर्को जिम्मेवारी थपिन पुग्यो । टेलिश्रृङ्खलामा कलाकारको भूमिका गर्ने र आश्रमहरुमा स्वयंसेविका भएर सहयोग गर्ने एक युवतीले बाल आश्रमको जिम्मेवारी बहन गर्ने आँट गर्नुभयो । कानुनी प्रक्रिया पुर्याएर उहाँले बाल आश्रम दर्ता गर्नुभयो । त्यही आँटले गर्दा अहिले २३ कलिला बालबालिका उहाँको छत्रछायाँमा हुर्किदै छन् । 

१८ छोराछोरी भएपछि विवाह

तीन वर्षअघि रीतासँग बिहेको कुरा गर्न दाजुलाई लिएर केटा आए । रीताले आफ्नो बिहेको लागि शर्तहरुको लामो पाण्डुलिपी पेश गर्नुपरेन । तर यति चाहिँ भन्नुभयो, ‘केटी हेर्न त आउनुभएको छ, तर म १८ बच्चाकी आमा बनिसकेँ ।’ कुरो सुनेर केटा र केटाका दाजु अक्क न बक्क भए । एकछिनको कुरापछि मात्रै उनीहरुले चुरो कुरो थाहा पाए । 

श्रीमान र आश्रमका बालबालिकासँग रीता

त्यसमाथि केटाको बाको सोचाइ नै आश्रम खोल्नुपर्छ भन्ने रहेछ । झन् केटा स्थापित संगीतकार, जयप्रकाश जोशी (जेपी जोशी) पनि समाजसेवामा झुकाव भएका मान्छे । केटा पक्षबाट उहाँको कुरा स्वीकार भयो । 

‘भगवानले माथिबाटै जोडी मिलाएर पठाउँछ भन्छन् नि’, उहाँले हाँस्दै भन्नुभयो, ‘भनेजस्तो केटा नपाए बिहे नै गर्दिन भनेर बसेकी थिएँ, ढुंगा खोज्दा देवता मिलेझैँ भयो ।’

बिहे गर्ने बेला उहाँसँग १८ जना बालबालिका थिए । अहिले २३ पुगेका छन् र आफ्नै पनि एक छोरी भएकी छिन् । छोरी र आश्रमका छोराछोरीलाई सँगैै काखमा खेलाउँदाका तीतामीठा अनुभवहरु छन् रीतासँग । छोरी जन्मेको एक महिनामै छोरीलाई काखबाट पर राखेर अरु बच्चाहरुको स्याहारमा जुट्दाका संघर्ष जति नै बयान गरे पनि कमै जस्तो लाग्छ ।

शिष्ट परिवार

आश्रममा सबै बालबालिका ज्ञानी छन् । तर आश्रममा आउँदा सबै ज्ञानी थिएनन् । ‘सुरुमा त कुनै कुनै बच्चाले बोलेको सुनेमा पनि शरीरमा काँडा उम्रिन्थे’ रीता भन्नुहुन्छ, ‘काँचो माटोलाई आकार दिनु भनेको के हो भन्ने कुरा मैले बल्ल बुझेकी छु, अहिले कुनै पनि बच्चाको मुखबाट खस्रो बोली पनि सुनिदैन ।’

बालबालिका कहिले रीतालाई भन्ने गर्छन्, ‘मामू हजूर धेरै दुःख नगर्नु न, हामी पढ्दैनौ बरु काम गर्छौं नि है ।’ त्यतिबेला रीतालाई बालबालिकाको अनुहारमा आफ्नै आमाको झझल्को आउँछ । 

कहिलेकाहीँ बालबालिकाको कुराले पनि रीताको आँखा रसाउँछ । रीतालाई बालबालिकाले बेलाबेला आफ्नो सुनाउँछन्, ‘मामू, हामी त पहिला खाएर फालेका स्याउ टिपेर खान्थ्यौँ नि, होटेलमा बाहिर फालिएका जुठा खानेकुरा खान पनि मुश्किल पर्दथ्यो ।’

अहिले तिनै बालबालिकाका ‘प्ले ग्रुप’ देखि ६ कक्षासम्म पढ्ने भएका छन् । २३ जनामध्ये २ जना बालक अरु सबै बालिकाहरु छन् । कति त आश्रममा बसेर पनि फिर्ता गइसकेका छन् । बालबालिकाको अवस्था सुध्रेपछि उनीहरुका आफन्तहरुले बिभिन्न नाता जोड्दै लिन आउने गरेको रीताले सुनाउनुभयो ।

आश्रमबाट फर्केर घर गइसकेको एक बालकले वर्षौंपछि फोन गरेर ‘मामु म हजुरलाई बिर्सेको छैन, म ठूलो भएपछि हजुरसँगै मिलेर काम गर्नेछु’ भनेको सुन्दा रीताले आफ्नो आँसु थाम्न सक्नुभएन । ती कुरा सम्झेर त कतिपटक एक्लै रुनुभयो । त्यो बालकले प्रयोग गर्ने सिरानी अँगालेर बेहोसीझैँ हुनुभयो ।

आफ्नै घनिष्ट मित्रहरुले उहाँलाई कतिपटक भनिसकेका छन्, ‘नदुखेको टाउको किन दुखाउँछेस ?’ तर रीताले कहिल्यै हार मान्नुभएन । समाजले काटेका  कुरालाई कहिल्यै पर्वाह गर्नुभएन र  बेपर्वाह उहाँ संघर्ष गरिरहनुभएको छ ।  

आश्रम खोल्नुभन्दा अगाडि रीता पशुपतिको भजनमा जाँदा बालबालिकाले राम्रो भजन गाइरहेका देख्नुभएछ । कसरी यति राम्रो भजन गाउन जानेको भनेर सोध्दा उनीहरुले हेरेरै सिकेको भनेपछि रीतालाई लाग्यो, देशका भविष्यका कर्णधार त सडकमा पो रहेछन् । यस्ता बालबालिकालाई सहारा दिनुपर्छ भन्ने धारणा उहाँको मनमा त्यति नै बेला अंकुरित भइसकेको थियो ।

जीवन सामाजिक कार्यमा लगाउँछु भन्ने सोचे पनि आश्रम नै खोल्छु भन्ने चाहिँ सोच्नुभएको थिएन । समाजसेवा गरेमा भगवानलाई खुसी पार्न मठमन्दिर धाउनु पर्दैन भन्ने ज्ञान रीताले आफ्नै परिवारबाट सिक्नुभयो । त्यही कुरा मनमा गढेर बस्यो । अनि ९ वर्षअघि अनाथआश्रम सञ्चालन गर्नुभयो ।

व्यस्तताको बाबजुद पनि कलाकारिता

२०६० सालमा एसएलसी दिएर काठमाण्डौ आएपछि रीताले कलाकार गोपाल भुटानीसँग भेट गर्ने मौका पाउनुभयो र त्यहीँबाट उहाँको जीवनमा कलाकारिताको नयाँ आयामले प्रवेश पायो । त्यही भएर उहाँ गोपाल भुटानीलाई आफ्ना गुरु मान्नुहुन्छ । ‘गोपाल भुटानी गुरुबाले देखाउनुभएको मार्गमा नै मेरो कलाकारिता अगाडि बढेको हो’, रीता भन्नुहुन्छ ।

उहाँले दर्जनौं टेलिश्रृङ्खलामा अभिनयको काम गरिसक्नुभएको छ । कलाकारिताको व्यस्तताको बाबजुद पनि आश्रम सञ्चालन गर्ने आँट गर्नुभयो र आश्रम सञ्चालन गर्दै कलाकारितालाई पनि समय दिनुहुन्छ । जीवनका दुई फरक पाटालाई मज्जाले डोर्याउनुभएको छ ।

आश्रम सञ्चालनमा आर्थिक समस्या

एक व्यक्तिले यत्रो आश्रम चलाउनमा केही समस्या त हुन्छन् नै । आश्रम रहेको घरको मासिक भाडा मात्रै ४५ हजार रुपैयाँ तिर्नुपर्छ । ‘दाताहरुको सहयोगले जेनतेन आश्रम चलिरहेको छ’, उहाँ भन्नुहुन्छ, ‘कहिलेकाहीँ त खातामा पैसा नहुँदा साथीभाइहरुसँग सापट मागेर पनि चलाउने गरेकी छु ।’

 

जन्मदिन मनाउनको लागि मान्छेहरु आउने गरेको र उहाँहरुले पनि सहयोग गर्नेगरेको रीता बताउनुहुन्छ । सबैको साथ पाउनेमा उहाँ ढुक्क हुनुहुन्छ । आफूले कलाकारिताबाट कमाएको पैसा लगानी गर्ने ठाउँ पनि आश्रम नै भएको उहाँले बताउनुभयो ।

‘मलाई त जतिसक्दो बढी काम गर्न मन छ’ उहाँ भन्नुहुन्छ, ‘बढी काम पाए कमाइ बढी हुन्छ र बढी कमाइ भए आश्रमका आवश्यकताहरु पूरा गर्न सकिन्छ ।’


 

अन्तिम अपडेट: फागुन ६, २०७५

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

1 Comments

  • sagar

    Feb. 10, 2019, 1:43 p.m.

    Great Work... Rita JI (Real Hero you are )

  •  0 Reply

तपाईको प्रतिक्रिया