नक्कली भनेर किनेकाे हिराको औंठीले ३३ वर्षपछि बनायो करोडपति

 माघ २६, २०७५ शनिबार १७:१८:१७ | एजेन्सी
unn.prixa.net

हिरा लगाउने इच्छा त सबैलाई हुन्छ । एउटी बेलायती महिलाको पनि यस्तै इच्छा थियो । तर उनीसँग हिरा किन्नको लागि भने पर्याप्त पैसा थिएन । हिरा लगाउने आफ्नो चाहनालाई मेट्नकै लागि भएपनि उनले बजारमा गएर हिराजस्तै देखिने नक्कली हिराको औंंठी किनिन् ।

३३ वर्षसम्म उनले लगातार त्यो औंंठी लगाइरहिन् । ३३ वर्षपछि उनले जब त्यो औंंठीको वास्तविकता थाहा पाइन्, त्यतिबेला उनी चकित भइन् । त्यो नक्कली हिराको औंंठीले उनलाई रातारात करोडपति बनाइदियो ।

ती महिलाले बताएअनुसार ३३ वर्षपहिले आफ्नो इच्छा पूरा गर्न उनले बजारबाट हिराजस्तै देखिने ‘नक्कली’ औंंठी किनेकी थिइन् । त्यतिबेला त्यसको मूल्य नेपाली १ हजार ३ सय ६० रुपैयाँ परेको उनले बताएकी छिन् । तर पछि उनले खै के सोचिन्,  आफूले ३३ वर्षसम्म लगाएको औंठी बेच्ने निर्णय गरिन् ।

उनी त्यो औंठी बेच्नको लागि एक हिरा व्यापारी ठाउँ गइन् । व्यापारीले बेच्नुकाे कारण सोध्दा, उनले औंंठीमा लगाइएको हिरा नक्कली भएको र आफूले बेच्न खोजेको भनेपछि हिरा व्यापारी तीनछक परे ।

व्यापारीले यो सक्कली हिराको औंंठी हो भनेर हेरेर  थाहा पाइहाले। उनले सम्झाउँदै ती महिलालाई यो नक्कली नभएर सक्कली हिराको औंठी भएको बताए । यो कुरा सुनेर ती महिलालाई विश्वास नै भएन । उनले बताएकी छिन्, ‘व्यापारीको त्यो कुरा सुनेर मलाई चक्कर आउन थाल्यो, आफैलाई नियन्त्रण गर्न सकिनँ ।’

ती व्यापारीले त्यो हिरा २७ क्यारेटको बताएपछि उनले त्यसलाई परीक्षण गर्न हिरा विज्ञहरुलाई पनि भेटिन् । उनीहरुले पनि त्यो एकदमै प्राचीन हिरा भएको र त्यसलाई लिलाम बिक्रि गर्न सल्लाह दिए ।

उनीहरुको सल्लाह अनुसार उनले त्यो औंंठीलाई लिलाम बिक्रीमा राखिन् । अन्त्यमा ९ करोड रुपैयाँमा यसको लिलाम भयो । तर सबै कर काटेर ती महिलाले भने सात करोड रुपैयाँ पाइन् । ३३ वर्षअगाडि नक्कली भनेर किनेको हिराको औंठीले उनलाई करोडपति बनायो ।

अन्तिम अपडेट: फागुन २९, २०८०

1 Comments

  • Jameel Mohammad

    Feb. 10, 2019, 6:16 p.m.

    अचम्म ...के यो सत्य घटना हो र ..यसको सत्य तथ्य के हो ?

  •  0 Reply

तपाईको प्रतिक्रिया