यस्तो थियो शाहरुख र गौरीको प्रेम कहानी, तीनपटक भएको थियो विवाह

 माघ २७, २०७५ आइतबार १३:३०:३५ | एजेन्सी
unn.prixa.net

बलिउड चलचित्र उद्योगकै सुन्दर जोडीको रुपमा परिचित जोडी हो, अभिनेता शाहरुख खान र गौरी खानको जोडी । शाहरुख र गौरीको विवाह भएको २७ वर्ष पुगिसकेको छ । यो जोडीले एकअर्कासँग एक पटक मात्रै नभई ३ पटक विवाह गरेको छ । 

शाहरुख खान र गौरी खानबीचको प्रेम कहानी पनि कुनै फिल्मको कहानीभन्दा कम छैन । शाहरुख र गौरीको भेट सन् १९८४ मा एक साथीले राखको पार्टीमा भएको थियो । त्यस समयमा शाहरुख केवल १८ वर्षका थिए । पार्टीमा गौरी खान कुनै एक युवकका साथ डान्स गरिरहेकी थिइन् ।

शाहरुखले गौरीलाई देख्नेबित्तिकै मन पराए । गौरी पार्टीमा डान्स गर्न लजाइरहेकी थिइन् । त्यतिकैमा शाहरुखले हिम्मत गर्दै गौरी नजिक गएर आफूसँग डान्स गर्न अनुरोध गरे तर गौरीले शाहरुखतर्फ खासै ध्यान नदिएरै अस्वीकार गर्दै भनिन्, ‘म मेरो प्रेमीलाई पर्खिरहेकी छु ।’

तर वास्तविकतामा गौरीको कुनै प्रेमी थिएनन् । उनीसँग उनका दाइ साथमै थिए तसर्थ गौरीले शाहरुखका साथ झुट बोलेकी थिइन् । पछि शाहरुखले उनले झुट बोलेको कुरा थाहा पाए र गौरीसमक्ष गएर जिस्कँदै भने, ‘मलाई पनि आफ्नो दाइ नै सम्झिनू ।’ त्यसबेलादेखि गौरी र शाहरुख बिचको सुमधुर सम्बन्ध सुरु भयो ।

गौरीलाई शाहरुख खानको आत्मविश्वास र स्टाइल राम्रो लाग्थ्यो । तर शाहरुख गौरीलाई लिएर निकै इर्ष्यालु थिए । यही कुराले गौरी शाहरुखसँगको सम्बन्धलाई लिएर दुविधामा थिइन् । शाहरुख गौरीले कपाल खुल्ला राखेको र गौरीले एक्लै अरु केटासँग कुरा गरेको पनि मन पराउँदैन थिए । यही कारण गौरीलाई लाग्यो कि उनको भविष्य शाहरुखका साथ राम्रो हुनेछैन । गौरीले यही कारण सोचिन् कि अब उनले शाहरुखसँगको सम्बन्ध तोड्नु पर्छ । 

एक दिन शाहरुखले आफ्नो घरमा गौरीको जन्मदिन मनाउन बोलाए । गौरीका लागि शाहरुखले उनको घरको कोठा फूलैफूलले सजाएका थिए भने गौरीका लागि धेरै उपहार र केक पनि राखेका थिए । त्यो सब देखेर गौरी निकै बेरसम्म रोएकी थिइन् । गौरी किन यसरी रोइरहेकी छिन् भन्ने कुरा शाहरुखले ठम्याउनै सकेनन् । त्यसको भोलिपल्ट गौरी उनका साथी र शाहरुखलाई नभनेरै मुम्बई गइन ।

त्यसपछि शाहरुखले गौरीका लागि उनको मनमा कति माया रहेछ भन्ने कुरा महसुस गरे । शाहरुखले यही कुरा आफ्नी आमालाई भने उनकी आमाले पनि गौरीलाई खोजेर ल्याउनु भन्दै १० हजार रुपैयाँ दिइन् । शाहरुख त्यही १० हजार लिएर गौरीको खोजीमा मुम्बई गए ।

 

मुम्बई गएर शाहरुखले गौरीलाई धेरै ठाउँमा खोजे तर उनले भेट्टाउन सकेनन् । धेरै दिनको खोजीपछि शाहरुखले गौरीलाई समुन्द्रको किनारामा भेटे । गौरी शाहरुखलाई देखेर दौडिँदै आइन् । दुवै एकअर्कालाई भेटेर धेरैबेर रोए । दुबैले स्वीकार गरे कि उनीहरु एकअर्काबिना बस्न सक्दैनन् । त्यसपछि शाहरुखले गौरीलाई साथमै लिएर आफ्नो घर दिल्ली फर्किए र विवाह गर्ने निर्णय लिए । यहीँबाट उनीहरुको जीवनमा अर्को कहानी सुरु भयो । 

उनीहरुको प्रेम कहानीमा सबैभन्दा ठूलो समस्या यी दुवैको धर्म बन्यो ।  शाहरुख खान मुसलमान थिए भने गौरी हिन्दु ब्राह्मण परिवारकी थिइन् । गौरीका बुवाआमा तथा परिवारलाई उनीहरुको सम्बन्ध स्वीकार्य भएन । यता शाहरुख एक्टिङ्ग करियरका लागि संघर्ष गरिरहेका थिए । 

लाखौँ प्रयासपछि गौरीको परिवारले शाहरुखसँगको सम्बन्धलाई स्वीकार गरेको थियो । २६, अगष्ट १९९१ मा कोर्ट म्यारिज गरेका थिए । त्यसपछि मुसलमान परम्पराअनुसार दुवैले निकाह गरेका थिए । उक्त विवाहमा गौरीको नाम आयशा राखिएको थियो ।

त्यसपछि २५ अक्टुबर १९९१ मा शाहरुख खान  र गौरीको हिन्दू रितिरिवाजमा तेस्रो पटक विवाह भएको थियो । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया