यूएईमा मन्त्री पण्डितलाई प्रश्न : साइकलले पनि तेल खाँदो रहेछ, कस्तो साइकल हो मन्त्रीज्यू ?

 माघ २७, २०७५ आइतबार १४:७:५० | उमाकान्त पाण्डे
unn.prixa.net

यूएई – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कतिपय सञ्चार माध्यमले आफू र सरकारलाई खुइल्याउन समाचार लेख्ने गरेको आरोप लगाउनुभयो ।

शुक्रबार यूएई आउनु भएका मन्त्री पण्डितले विषय नै नपाएका कतिपय सञ्चारमाध्यमले मन्त्रालयको पुरै खर्च जोडेर मन्त्रीले गरेको भन्दै सरकार र मन्त्रीलाई खुइल्याउन खोजेको आरोप लगाउनुभयो । 

शनिबार नेपाली दूतावास आबुधाबीमा आयोजित कार्यक्रममा सहभागी हुनु भएका मन्त्री पण्डितलाई यहाँ कार्यरत नेपाली नागरिकले व्यङ्यमिश्रित प्रश्न सोधेका थिए, ‘साइकलले पनि तेल खाँदो रहेछ, कस्तो साइकल हो मन्त्रीज्यू ?’ त्यसको जवाफस्वरुप मन्त्री पण्डितले आफ्नो निजी सवारी साधनको रुपमा आफूसँग साइकल अहिले पनि भएको  बताउनुभयो । 

यूएईमा मन्त्री पण्डितलाई प्रश्न : तस्करको क्विन्टल सुन पास हुने, कामदारको झिटीझाम्टोमा आँखा गाड्ने ?

मन्त्री पण्डितले मन्त्री हुञ्जेल सरकारले दिएको सुविधाअनुसार गाडी प्रयोग गर्ने बताउनुभयो । पदीय जिम्मेवारीबाट हटेपछि पहिलेजस्तै साइकल तथा सार्वजनिक यातायातका साधन प्रयोग गर्ने बताउनुभयो । 

आफूविरुद्ध जस्ता विषय आए पनि देश प्रतिको दायित्व बहन गर्न आफू विचलित नहुने मन्त्री पण्डितले बताउनुभयो । मागेर मात्रै देश समृद्ध नहुने र भागेर समस्या समाधान नहुने भन्दै विदेशमा सिकेको सीप नेपालमा प्रयोग गर्न उहाँले आग्रह गर्नुभयो ।  

दूतावासमा भएको अन्तरक्रिया कार्यक्रममा कार्यवाहक राजदूत सागरप्रसाद फुयाँल, श्रम सहचारी मोतिराम भुसाललगायत कर्मचारीको उपस्थिति थियो । त्यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव केदार पनेरु तथा  मन्त्री पण्डितका स्वकीय सचिव मदन राई पनि कार्यक्रममा सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा राजनीतिक दल, संघ संस्थाका प्रतिनिधि र विभिन्न क्षेत्रमा कार्यरत श्रमिकको सहभागिता थियो । 

मन्त्री पण्डित दुबईमा आइतबारबाट सुरु हुने सातौँ विश्व सरकार शिखर सम्मेलनमा सहभागी हुन ६ सदस्यीय टोलीसहित शुक्रबार राति युएई आउनुभएको हो । 

सम्मेलनमै सहभागी हुन लोकसेवा आयोगका अध्यक्ष उमेश मैनाली तथा सचिव महेन्द्र गुरागाईँ शनिबार राति यूएई आउनु भएको छ ।
 

अन्तिम अपडेट: बैशाख १, २०८१

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया