निजी शोरुम उद्घाटन गर्न हेलिकप्टर चढेर आए मुख्यमन्त्री राई !

 माघ २७, २०७५ आइतबार १९:७:४ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुंगा– प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राई महिन्द्रा कम्पनीको शोरुम उद्घाटन गर्न हेलिकप्टर चढेर ओखलढुंगा आउनुभएको छ ।

सिद्धिचरण नगरपालिका वडा नं. ५ वर्णालुमा रुम्जाटार अटोमोबाइल्स प्रालिले सञ्चालन ल्याएको शोरुम उद्घाटन गर्न मुख्यमन्त्री राई सोलुखुम्बुको पत्ताले हुँदै रुम्जाटार आउनुभएको हो ।  

मुख्यमन्त्री राई प्रदेश सभाका सांसद अम्बीरबाबु गुरुङसहित सोलुखुम्बुको पत्तालेमा केही समय हेलिकप्टर राखेर हिमपात भएको क्षेत्र र महालंगुर हिमश्रृंखला अवलोकनपछि रुम्जाटार आउनुभएको थियो । उहाँ महिन्द्रा कम्पनीका प्रतिनिधि, सांसद गुरुङसहित रुम्जाटार विमानस्थलमा समिट हेलिकप्टरबाट दिउँसो रुम्जाटार १२ः३० बजे आएर शोरुम उद्घाटनपछि ४ः३० बजे काठमाण्डौ लाग्नुभएको थियो ।  

रुम्जाटार अटोमोबाइल्स कम्पनीमा प्रदेश सभाका सांसद गुरुङको मुख्य लगानी रहेको बताइन्छ । गुरुङकै पहलमा मुख्यमन्त्री राई कम्पनीको शोरुम उद्घाटन गर्न आउनुभएको हो । यसअघि थाइल्याण्ड हुँदै अमेरिका जाँदा पनि मुख्यमन्त्री राई सांसद गुरुङकै खर्चमा अमेरिकासम्म पुगेको आरोप लगेको थियो । 

निजी कम्पनीको उद्घाटन गर्न मुख्यमन्त्री नै आउनु उपयुक्त नभएको सरोकारवाले बताएका छन् । नेकपाका नेता बाबुराम गौतमले समग्र प्रदेशको विकास निर्माणमा असर पर्ने गरी स–साना काममा मुख्यमन्त्री कुद्न उपयुक्त नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सबै क्षेत्रमा पुगेर जनताको अवस्था र विकासबारे बुझ्नु उपयुक्त हो, तर समानुपातिक हिसाबले सबै ठाउँ जानुपर्छ ।’ 

मुख्यमन्त्री भएपछि राई ओखलढुंगा तीन पटक आइसक्नु भएको छ । तर नेकपाका कार्यकर्ता भने उहाँको भ्रमणमाथि प्रश्न उठाउँदै आएका छन् । सदरमुकाममै आउँदा उहाँ नेकपाको कार्यालय नपुगी दिनभरि बसेर फर्किएपछि कार्यकर्ता चिढिएका हुन् । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया