विद्युतीय गाडीको चार्जिङ स्टेशन : गफ मात्रै धेरै, काम शून्य

 माघ २८, २०७५ सोमबार १०:०:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – गएको कात्तिकमा काठमाण्डौमा भएको एक कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भन्नुभएको थियो, ‘नेपालमा विद्युत उत्पादन बढिरहेको छ, देशमा बिजुली खपत बढाउन अबको हाम्रो लक्ष्य विद्युतीय गाडी हुन्, र विद्युतीय गाडीको प्रयोग बढाउन हामीले ठाउँ ठाउँमा गाडी चार्जिङ स्टेशन बनाउँदैछौं ।’

नेपालका सबै मुख्य राजमार्गहरू छेउमा प्राधिकरणका प्रसारण लाइनहरू रहेकाले फरक–फरक स्थानमा चार्जिङ स्टेसन राख्न कुनै समस्या नहुने घिसिङको भनाई थियो ।

यो कुरा गरिरहँदा तालीको गडगडाहड सुनेपछि घिसिङले थप्नुभएको थियो ‘चार्जिङ स्टेसनको मापदण्ड, स्थानलगायतका विषयमा सरकारसँग छलफल गरी चाँडै टेण्डर आव्हान हुन्छ ।’

प्राधिकरणका प्रमुख घिसिङको प्रतिवद्धताले विद्यतुीय गाडी चढिरहेकाहरु र विद्युतीय गाडी चढ्ने योजना बनाएकाहरु मख्ख थिए । तर अहिले भने उनीहरु निराश छन् । 

वातावरण विभागले नमूनाको रुपमा ५ ठाउँमा चार्जिङ स्टेशन बनाउँदै

धेरै ठाउँमा बनाउन नसके पनि विद्युतीय गाडी प्रयोग गरौं है भन्ने सन्देश दिन वातावरण विभागले काठमाण्डौका पाँच ठाउँमा चार्जिङ स्टेशन बनाउँदै छ । कुन कुन गाडीको लागि उपयुक्त हुने चार्जिङ स्टेशन बनाउने भन्ने विषयको फाइल अन्तिम चरणमा पुगेको विभागका महानिर्देशक झलकराम अधिकारीले उज्यालोलाई जानकारी दिनुभयो । उहाँले अर्को हप्तामा ५ वटा चार्जिङ स्टेशनको लागि टेण्डर आव्हान हुने पनि जानकारी दिनुभयो । 

‘अहिले हामी स्पेसिफिकेशनको अवस्थामा छौं, अर्को हप्ता टेण्डर आव्हान हुन्छ, त्यसको डेढ महिनामा  त स्टेशन बनिसक्छ’ उहाँले भन्नुभयो । 

पहिलो चरणमा साझा यातायातको परिसरमा स्टेशन राखिनेछ । 

बजारमा धेरै विद्युतीय गाडी भित्रिइसकेकाले सबै गाडीलाई मिल्ने खालको चार्जिङ स्टेशन बनाउन समस्या हुने  र सम्बन्धित गाडी डिलरले नै बनाउनुपर्ने महानिर्देशक झलकराम अधिकारीले बताउनुभयो । 

‘सरकारले चार्जिङ स्टेशन पनि बनाइदिएन, व्यापार गर्न नीति पनि छैन’

नेपाल आयल निगमले निजी क्षेत्रलाई पेट्रोलियम पदार्थ बिक्री वितरण गर्न दिन्छ । तर नेपाल विद्युत प्राधिकरणले निजी क्षेत्रलाई चार्जिङ स्टेशनको व्यापार गर्नको लागि नीति नबनाइदिँदा समस्या भएको छ । 

विद्युतीय गाडी चार्जको लागि चार्जिङ स्टेशन बनाए पनि कति शुल्क लिने भन्ने विषयमा सरकारले नीति नबनाउँदा समस्या भएको विद्युतीय गाडी बेच्नेहरुको गुनासो छ । 

‘हामीले चार्जिङ स्टेशन बनाएर, गाडी चार्ज गर्न थाल्यौं भने भोलि सरकाले कुन नियममा टेकेर तिमीहरुले चार्जिङ स्टेशन बनायौ, अनि कुन नियमका आधारमा शुल्क लियौ भनेर समात्छ, त्यसैले पहिला त राज्यले नीति बनाउनैपर्छ’ नेपालमा ‘बीवाईडी’ गाडीको आधिकारित बिक्रेता सूर्य गुड्स सप्लायर्सकी कार्यकारी निर्देशक यमुना श्रेष्ठले उज्यालो अनलाइनसँग भन्नुभयो । 

उहाँले राज्यले विद्युतीय गाडीको प्रयोग बढाउने भनेर भाषण गरिरहँदा व्यवहारिक कठिनाईलाई भने बेवास्ता गरेको पनि बताउनुभयो । यदि सरकारले गाडी चार्जिङ स्टेशनको बारेमा नीति बनाइदिएमा मज्जाले व्यापार हुने पनि उहाँले दावी गर्नुभयो । 

यस्तै भनाई छ,  नेपालमा किया कम्पनीको विद्युतीय गाडी बेच्ने प्रदिप बरालको पनि  । 

‘हामीले त आफ्नै पहलमा शुल्क नलिने गरी केही ठाउँमा विद्युतीय गाडी चार्जिङ स्टेशन राखेका छौं, अनि हाम्रो गाडी  १५ एम्पिएर विद्युत प्रशारण भएको लाइन अर्थात घरमै पनि चार्ज हुन्छ, तर यस्तो नहुनेहरुलाई भने गाह्रो छ’ बरालले भन्नुभयो । 

सरकारले चाह्यो भने गर्न नसक्ने केही नभएको तर चार्जिङ स्टेशन बनाउनको लागि नीति नियम नबनाएकाले निजी क्षेत्रले यो अवस्थामा केही गर्न नसक्ने उहाँको दावी छ । 

‘ फरक फरक कम्पनीका गाडीको लागि चार्जिङ स्टेशन बनाइदिन सम्भव छ र ?’

ठाउँ ठाउँमा विद्युतीय गाडीको लागि चार्जिङ स्टेशन बनाउने नेपाल विद्युत प्राधिकरणको घोषणा, घोषणामै सीमित रहेको छ । विद्युतीय गाडीको चार्जिङ स्टेशन बनाउनको लागि नीति नै अहिलेसम्म नबनेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारी बताउनुहुन्छ । 

‘कुनै पनि कामको लागि सवैभन्दा पहिले त नीति हुनुपर्छ, प्राधिकरणले चार्जिङ स्टेशन बनाउने विषयमा अहिलेसम्म नीति नियम नै बनेको छैन, कुन नियम र कार्यविधिको आधारमा यो काम गर्ने भन्ने कुरा नै टुंगो लागेको छैन’ अधिकारीले भन्नुभयो । 

नीति बने पनि विद्युतीय गाडीको लागि चार्जिङ स्टेशन बनाउन व्यवहारिक समस्या हुने प्राधिकरणको भनाई छ । 

‘नेपालमा धेरै कम्पनीका विद्युतीय गाडी भित्रिरहेका छन्, फरक फरक गाडीको लागि फरक क्षमता र फरक प्रकारको चार्जिङ स्टेशन आवश्यक पर्छ, हामीले कतिवटा मोडलको लागि स्टेशन बनाउने त ? के यो सम्भव छ ?’ अधिकारीले प्रश्न गर्नुभयो । 

हरेक ५० किलोमिटरको दूरीमा चार्जिङ स्टेशन बनाउने कुरा सानो योजनाले नबन्ने प्राधिकरणको दावी छ । 

तर प्राधिकरणले नेपालमा विद्युतीय गाडी प्रयोग गर्नको लागि जनचेतना जगाउन र आकर्षण गर्न २/४ ठाउँमा नमूना चार्जिङ स्टेशन बनाउन सक्ने प्रवक्ता अधिकारीले बताउनुभयो । 


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया