माघ महिनामा ‘चेली त्यार’

 माघ २८, २०७५ सोमबार ११:२३:५ | विमल बिष्ट
unn.prixa.net

डोटी – सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा अहिले ‘चेली त्यार’को चहलपहल छ । माघ महिनाभर आफ्ना छोरी, बहिनी र भान्जीलाई सेल, पुरी दिने चलन छ । यसरी छोरीचेलीको घरमा माइती पुगेर खानेकुरा दिने चलन रहेकाले ‘चेली त्यार’ भन्ने चलन छ । 

सेलरोटीका परिकारहरू पकाएर विवाहित छोरीलाई दिन यहाँका स्थानीय महिलाहरु दिनहुँ छोरीको घरमा धाउन थालेका छन् । माघे संक्रान्तिबाट सुरु हुने यो तिहार माघ महिनाभरी चल्ने गरेको केआईसिंह गाउँपालिका ५ का स्थानीय यज्ञराज जोशी बताउनुहुन्छ । 

माघ महिनाभर सुदूर–पश्चिममा जताततै कोसेली बोकेर छोरी–ज्वाइँको घर गइरहेका आमाहरू भेटिन्छन् । माघे संक्रान्तिमा माइत आउन नपाएका छोरीचेली भेट्न माइतीघरका सदस्यहरु छोरीकै घर पुग्छन् । 

सुदूरपश्चिम प्रदेशका कैलाली, अछाम, बाजुरा, बझाङ र डोटीमा माघ महिनाभर चेलीलाई त्यार दिने चलन छ । तर यहाँका अन्य जिल्लाहरु बैतडी, डडेल्धुरा, दार्चुला र कञ्चनपुरमा भने यो तिहार चैत महिनामा मनाउने गरिएको स्थानीय बुढापाकाहरु बताउँछन् ।

बडीकेदार गाउँपालिका ५ की स्थानीय अम्भादेवी कललेलकी छोरी माघीमा माइत आउन भ्याउनुभएन । छोरीको घरमा जान लाग्नुभएकी अम्भादेवीले भन्नुभयो ‘छोरी ज्वाँइ माघमा माइत आएनन्, त्यही भएर छोरीकै घरमा त्यार दिन जाँदै छु ।’

यहाँ माघ महिनालाई धर्मी महिनाका रुपमा लिने गरिन्छ । यो महिनामा छोरी चेली, ज्वाँइ र नाती नातीनालाई खानेकुरा तथा केही दान दक्षिणा दिए धर्म कमाइन्छ भन्ने विस्वासले गर्दा यहाँका स्थानीयले माघ महिनामा खानेकुरा तथा केही दान दक्षिणा दिने गरेको दिपायलका स्थानीय गोपाल माझीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘माघ महिनामा दान दक्षिणा दिए धर्म कमाइन्छ भनेर हामी छोरीलाई त्यार दिने गर्छौँ ।’
 

अन्तिम अपडेट: चैत १५, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया