मेस्सी र अर्जेन्टिना गर वा मरको अवस्थामा, क्रोएसियाको मनोबल उच्च

 असार ७, २०७५ बिहिबार १९:३४:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

रुसमा जारी विश्वकप फुटबल अन्र्तगत समूह डीमा रहेका अर्जेन्टिना र क्रोएसिया राति पौने १२ बजे भिड्दैछन् । सन् २०१४ को विश्वकपको उप–विजेता अर्जेन्टिना अहिले  फिफा बरियतामा पाँचौ स्थानमा छ ।
 
क्रोएसिया १८ औं स्थानमा रहे पनि अहिले भने समूह चरणको पहिलो खेलबाट ३ अंकसहित समूह डीको शीर्ष स्थानमा छ । अर्जेन्टिनाले नवप्रवेशी टोली आइसल्याण्डसँग बराबरी खेलेपछि एक अंकसहित तेस्रो स्थानमा छ ।
 
आजको खेलमा क्रोएसिया विजयी भए प्रि–क्वार्टरफाइलनमा प्रवेश सहज हुनेछ भने बराबरी वा पराजयले अर्जेन्टिनालाई अप्ठेरो पर्नेछ । पहिलो खेलमा पाएको पेनाल्टीमा गोल गर्न चुकेका सुपरस्टार लियोनल मेस्सीमाथि पनि चौतर्फी  दबाब छ । समकालीन फुटबलर रोनाल्डो र मेस्सीमध्ये अहिले मेस्सी बढी दबाबमा छन् । रोनाल्डोले पहिलो खेलमै ह्याट्रिक गरेर आफूलाई सावित गरिसकेका छन् । साथै दोस्रो खेलमा पनि मोरक्कोविरुद्ध निर्णायक गोल गरेका रोनाल्डोले वाहवाही बटुलिरहेका बेला मेस्सीको भने आलोचना भैरहेको छ । 
 
क्लब फुटबलमा उत्कृष्ट प्रदर्शन गर्दै आएका मेस्सी राष्ट्रिय टिमका लागि भने खासै उपलव्धि हासिल गर्न सकेका छैनन् ।
 
बिहीबार रसियाको निझ्नी नोभोगाडो स्टेडियममा अर्जेन्टिनाविरुद्ध उत्रँदा तुलनात्मक रुपले क्रोएसिया दबाबरहित देखिने छ । पहिलो खेलमा नाइजेरियामाथि २–० गोलको जित हासिल गरेको क्रोएसिया आजको खेलमा अर्जेन्टिनाविरुद्ध उही मनोबलका साथ उत्रनेछ ।
 
क्रोएसियाको मिडफिल्ड र फरवार्डमा उत्कृष्ट खेलाडीको जमघट छ । उनीहरु जतिबेला पनि अर्जेन्टिनाविरुद्ध आक्रामक रणनीतिका साथ उत्रँदा मेस्सीको टिमलाई अप्ठेरो पर्ने देखिन्छ । क्रोएसियाका मिडफिल्डर इभान पेर्सी, इभान राकाटिक, लुका मोड्रिक आफै स्कोरर पनि हुन् ।
 
यसैगरी क्रोएसियाबाट सबैभन्दा बढी गोल गरिसकेका मारियो माञ्जुकिजले अग्र पंक्तिमा अर्जेन्टिनी डिफेण्डरलाई शान्त रहन दिने छैनन् । युभेन्टसबाट व्यावसायिक फुटबल खेल्ने मान्जुकिजले अहिलेसम्म ८४ क्यापमा ३० गोल गरिसकेका छन् । यसैगरी निकोला केलेनिक र एन्ड्रेज कार्मारिक पनि फरवार्डको उत्कृष्ट फर्ममा रहेका छन् ।
 
हुन त अर्जेन्टिनामा स्टार खेलाडीको कमी छैन । तर पहिलो खेल बराबरीमा टुंगिएकाले अहिलेको खेल गर या मरको अवस्थामा पुगेको हो । अर्जेन्टिनामा मेस्सी, काबलेरो, साल्भिओ, ओटामेन्डी, टागिलाफिको, मार्सिरानो, डी आरिया, अग्युइरो जस्ता खेलाडी छन् ।
 
अर्जेन्टिना र क्रोएसिया पछिल्लो १९९८ को विश्वकपको समूह चरणमा भिडेका थिए । जसमा अर्जेन्टिना १–० गोलले विजयी भएको थियो ।

म्याच फ्याक्ट्स

– यी दुई टोली अहिलेसम्म ४ पटक भिडेकोमा अर्जेन्टिनाले २ र क्रोएसियाले एक खेल जितेका छन् । एक खेल बराबरी भएको थियो ।
 
– क्रोएसियाले पछिल्लो चार विश्वकपमा हरेक विश्वकपमा एक दक्षिण अमेरिकी प्रतिद्वन्दीसँग पराजय ब्यहोरेको छ ।
 
– लियोनल मेस्सीले अर्जेन्टिनाका लागि गरेको पहिलो गोल (सन् २००६ मा) क्रोएशियाविरुद्ध नै थियो । उनले क्रोएसियाविरुद्धको २ खेलमा २ गोल गरेका छन् ।
 
– क्रोएसियाका डिफेण्डर भर्डान कोर्लुका आजको खेलमा टिममा परेमा राष्ट्रिय टोलीका लागि १०० क्याप जित्नेछन् । विश्वकप टिममा लुका मोड्रिकपछि १०० क्याप जित्ने दोस्रो खेलाडी उनी हुनेछन् ।

प्लेयर्स टु वाच

एडुवार्डो साल्भियो – अर्जेन्टिना
 
आइसल्याण्डविरुद्धको खेलमा कुनै पनि अर्जेन्टिनी खेलाडीले आफ्नो पोजिसनमा पूरै कभर गरेर खेले भने ती हुन् एडुवार्डो साल्भियो । बेनफिकाका २७ वर्षीय विंगर साल्भियोले साम्पाओलीको नेतृत्वमा रहेको अर्जेन्टिनी टिममा पुनरागमन गरेका छन् ।
 

उनी अर्जेन्टिनाको विंङमा एक राम्रो हतियार बन्न सक्छन् । जब सेन्ट्रल एरियामा विपक्षी खेलाडीहरुमा मेस्सीलाई रोक्न व्यस्त हुन्छन्, अर्जेन्टिनाको सेन्टर फरवार्डका लागि महत्वपूर्ण आपूर्ति लाइन साल्भियो बन्न सक्छन् ।
 
सन् २००९ मा सिनियर टिमबाट डेब्यू गरेयता उनले जम्मा १० खेल खेलेका छन् ।

आन्द्रेज क्रामारिक – क्रोएसिया

नाइजेरियाविरुद्धको पहिलो खेलमा क्रामारिक मारियो माञ्जुकिजभन्दा पछाडि १० नम्बर पोजिसनमा खेलेका थिए । यदि अर्जेन्टिनाको विरुद्ध पनि प्रशिक्षक ज्लाटको डालिकले यही पोजिसनको प्रणाली बनाए पनि पक्कै पनि अधिक प्रभावकारी हुनेछ ।
 
युभेन्टसका स्ट्राइकर माञ्जुकिजलाई बल सप्लाई गर्नमात्र होइन, अर्जेन्टिनी सुपरस्टार मेस्सीलाई रोक्न मिडफिल्डमा उपस्थिति बढाउन पनि क्रामासिकले महत्वपूर्ण भूमिका खेल्न सक्छन् ।
 
२७ वर्षीय यी एट्याकिङ मिडफिल्डरले क्रोएसियाका लागि सन् २०१४ यता ३२ खेलमा ९ गोल गरेका छन् ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया