राष्ट्रिय सुरक्षामाथि असर नपर्ने गरी राष्ट्रिय परिचयपत्रको व्यवस्था गर्न सरकारसँग माग

 माघ २८, २०७५ सोमबार १५:३६:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधिसभाका सांसदहरुले राष्ट्रिय सुरक्षामाथि प्रतिकूल असर नपर्ने गरी राष्ट्रिय परिचयपत्रको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा ‘राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरणको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले नागरिकको गोपनियताको हक र राष्ट्रिय सुरक्षा प्रतिकूल नहुने गरी राष्ट्रिय परिचय पत्र वितरणको व्यवस्था गर्न सरकारसँग माग गर्ने बताउनुभयाे ।

सरकारले हाल पाँचथर र सिंहदरबारबाट राष्ट्रिय परिचय पत्र वितरणको काम सुरु गरेको छ । त्यसो गर्दा व्यक्तिको गोपनियताको हक र राष्ट्रिय सुरक्षामाथि खलल् आउन नदिन सरकारलाई सचेत रहन पनि सांसद बडूले आग्रह गर्नुभयाे ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद झपट रावलले राष्ट्रिय परिचय पत्र छपाइको काम देश बाहिर नगर्न पनि सरकारलाई सचेत गराउनुभयो । देश र नागरिकको सुरक्षासँग सम्बन्धित राष्ट्रिय परिचय पत्र जस्तो संवेदनशील विषय राष्ट्रिय परिचय पत्र छपाइको काम देश बाहिर गर्न नहुने उहाँको भनाइ थियो । उहाँले राष्ट्रिय परिचय पत्र वितरणको काममा सरकारलाई हतार नगर्न पनि गम्भिर ध्यानाकर्षण गराउनुभयो ।

सांसद रावलले देशको सूचना बाह्य देशमा पुर्‍याउने काम हुन नदिने गरी राष्ट्रिय परिचय पत्र वितरण सम्बन्धि कानुन निर्माण गर्न पनि सरकारसँग माग गर्नुभयो ।

बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृह सचिव प्रेमकुमार राईले नागरिकहरुलाई बहुउपयोगी हुने गरी राष्ट्रिय परिचय पत्र वितरणको काम सुरु गरिएको बताउनुभएको थियो । उहाँले सरकारले हाल पाँचथर र सिंहदरबारबाट सुरु गरेको राष्ट्रिय परिचय पत्र वितरणको काम देशभर संचालन गर्न लागिएको जानकारी पनि समितिलाई गराउनुभयाे ।

समितिले राष्ट्रिय परिचय पत्र वितरणको कामलाई व्यवस्थित बनाउन त्यसको मोडालिटीमा पनि आवश्यक छलफल गरेर सरकारलाई आवश्यक सुझाव दिने तयारी पनि गरेको छ । समितिकी सभापति शशी श्रेष्ठले राष्ट्रिय परिचय पत्र वितरणको विषय देशकाे सुरक्षासँग सम्बन्धित विषय भएकाले यस सम्बन्धमा विस्तृत छलफल गरी सरकारलाई आवश्यक सुझाव दिने तयारी गरिएको पनि बताउनुभयो ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया