हिरो महिला गोल्डकप : नेपालले भारतलाई २–१ ले हरायो

 माघ २८, २०७५ सोमबार २१:१८:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतको उडिसामा भैरहेको हिरो गोल्डकप फुटबल प्रतियोगिता अन्तरर्गत नेपालले भारतलाई २–१ गोलले हराएको छ ।  

भुवनेश्वरको कालिङ्गा रंगशालामा भएको खेलमा नेपालले भारतलाई दुई–एकले हराएको हो ।  खेल सुुरु भएको पाँचौ मिनेटमै नेपालका लागि सावित्रा भण्डारीले गोल गर्दै अग्रता दिलाएकी थिइन् ।

त्यसको एक मिनेटमै फेरि नेपाली खेलाडीले प्रहार गरेको बललाई भारतीय गोलकीपर अदिती चौहानले नै जाली चुमाइन् । उपहार गोलमार्फत नेपालले अग्रता दोब्बर बनायो । 

खेलको ८४औँ मिनेटमा भारतका लागि रत्नाबाला देवीले फ्रीकिकमार्फत गोल गरिन् । 

पहिलो खेलमा म्यानमारसँग तीन-शून्यले पराजित भएको नेपाल विजय लक्ष्यका साथ मैदान उत्रिएको थियो ।  जितसँगै म्यानमारले तालिकामा तीन अंक जोडेको थियो । नेपालले आजको जितसँगै तीन अंक जोडेको छ ।  आजको खेलमा जित हात पारेसँगै नेपालको उपाधि होड कायमै छ । आउँदो बुधबार नेपालले इरानसँग खेल्नेछ । 

आजै भएको अर्को खेलमा म्यानमारले इरानलाई २-० ले हराएको थियो ।  आजको जितसँगै अंकतालिकामा म्यानमारको ६ अंक भएको छ भने दुवै खेल हारेको इरान भने अंकविहीन रहेको छ । पहिलो खेलमा इरानलाई हराएको भारतको पनि तीन अंक रहेको छ ।

प्रतियोगितामा आयोजक भारतसहित नेपाल, म्यानमार र इरान रहेका छन् । साफ र ओलम्पिक छनोटको तयारीस्वरुप भारतले प्रतियोगिताको आयोजना गरेको हो ।
 


 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया