निर्माणाधीन मध्य पहाडी लोकमार्गको बन्द तालिका फेरियो

 माघ २९, २०७५ मंगलबार ७:३३:२७ | सन्तोष थापा
unn.prixa.net

पर्वत – मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा आगामी फागुन १ गतेदेखि बन्दको नयाँ तालिका सार्वजनिक भएको छ । दैनिक १० बजेदेखि ४ बजेसम्म लगातार बन्द हुँदा यात्रुहरुलाई असहज भएको भन्दै आगामी फागुन १ गतेदेखि बीचको समयमा पनि सडक सुचारु गर्ने गरी नयाँ तालिका सार्वजनिक भएको हो ।

जिल्ला समन्वय समिति पर्वतका संयोजक मनोहर वि. पौडेलको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले लगातार ७ घण्टाको यातायात सेवा बन्द हुँदा यात्रुहरुलाई असहज भएको भन्दै बिहान १० बजेदेखि २:३० बजेसम्म बन्द गर्ने र २:३० बजेदेखि ४:३० बजेसम्म खुला गर्ने साथै ४:३० बजेदेखि साँझ ६:३० बजेसम्म यातायात बन्द गर्ने गरी निर्णय गरेको छ । सडक विस्तारका लागि पर्वतको सिमाना अँधेरीखोलादेखि अर्मादीसम्म सबै ठाउँमा एकीकृत ढंगले काम सुचारु गर्नेसमेत निर्णय भएको हो ।

लोकमार्गको पर्वत खण्डमा पर्ने डिमुवादेखि बेतनीबीचको माहुरी भीरमा सडक फराकिलो बनाउने काम अझै द्रूत गतिमा काम गर्ने साथै चुवा भीर र अर्मादीको भीर कटान पनि एकै पटक गर्ने गरि व्यवस्था मिलाउने निर्णय गरेको छ । साथै वैकल्पिक सडक खोल्न सकिने ठाउँहरुमा बैकल्पिक सडक निर्माण गरी यातायात सेवालाई संचालन गराउने गरी तय गर्न मध्य पहाडी लोकमार्ग कार्यान्वयन इकाई पर्वत र निर्माण कम्पनी लामा कन्ट्रक्सनलाई व्यवस्था गर्न आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय पर्वतको समन्वयमा सम्पन्न बैठकमा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, मध्य पहाडी लोकमार्ग कार्यान्वयन इकाई पर्वतका प्रमुख आशिष थापा मगर, नेकपाका केन्द्रीय सदस्य गुप्त हमाल, पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा, निर्माण कम्पनीका प्रमुख, राजनीतिक दलका नेताहरु, संचारकर्मी समाजसेवी तथा नागरिक समाजका प्रतिनिधीहरुको उपस्थितिमा यो निर्णय गरिएको हो ।

मध्यपहाडी लोकमार्ग आयोजनाले ७२ किलोमिटर लामो पोखरा–बागलुङ खण्डलाई नयाँ स्वरुपमा ढाल्ने गरी मर्मत सम्भार तीब्र पारिरहेको छ । लोकमार्ग पुरै नयाँ स्वरुपमा विस्तार र स्तरोन्नति गर्न चारवटा प्याकेज बनाएर काम भैरहेको छ । 
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया