नेपालको राजनीतिक परिवर्तनले विश्वकै ध्यान तानेको छ : प्रचण्ड

 फागुन १, २०७५ बुधबार १४:११:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेपालले विश्वको ध्यानाकर्षण गर्नेगरी ठूल्ठूला राजनीतिक परिवर्तन गरेको बताउनु भएको छ । 

अध्यक्ष दाहालले नेपाल गरिब भए पनि यसले केही दशक यता गरेको राजनीतिक परिवर्तनले विश्वकै ध्यानाकर्षण गराएको बताउनु भएको हो । बुधबार जनयुद्ध दिवसको अवसर पारेर पार्टी केन्द्रीय कार्यालय, धुम्बाराहीमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले जनयुद्ध र जनआन्दोलनको जगमा नेपालले राजनीतिक परिवर्तनको क्षेत्रमा चमत्कार नै गरेको दाबी गर्नुभयो ।

अध्यक्ष दाहालले दुई कम्युनिष्ट पार्टी एकता, एकताको जगमा दुई तिहाई लोकतान्त्रिक जनमतसहितको सरकार बनाएर नेपालले विश्व कम्युनिष्ट पार्टीमा समेत गर्व गर्न लायक काम गरेको स्मरण गराउनुभयो ।

अध्यक्ष दाहालले पार्टी भित्रको एकतालाई मजबुत बनाएर अघि बढनुपर्ने आवश्यक्ता पनि औंल्याउनुभयो । दुई पार्टीबीचको एकतामा फाटो ल्याउन प्रतिक्रियावादीहरुले षड्यन्त्र गरिरहेको उल्लेख गर्दै उहाँले त्यो षड्यन्त्रलाई चिरेर अघि बढन पनि पार्टीका सबै नेता, कार्यकर्तालाई सचेत गराउनुभयो । अध्यक्ष दाहालले देशको समृद्धिको अभियानमा सहकार्य गरेर अघि बढन प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसलाई पनि अपिल गर्नुभयो । 

अध्यक्ष दाहालले मुलुकको सार्वभौम अखण्डतालाई कायमै राखेर देशलाई समृद्ध बनाउन प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससहितका सबै राजनीतिक दलहरुबीच सहकार्य गरेर अघि बढनुपर्ने आवश्यक्ता औंल्याउनु भयो । उहाँले जनताको अपेक्षा अनुसार देशलाई समृद्ध बनाउन संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका सहयात्री दलहरुबीच समझदारीको आवश्यक्ता रहेकोे पनि दोहोर्‍याउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले जनयुद्ध र आन्दोलनका शहीदहरुको सपना पूरा गर्न सिंगो पार्टीको ध्यान केन्द्रित हुनुपर्ने बताउनु भएको थियो ।
 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया