सरकारले रोजगार दिन सकेन भने तपाईँले एक वर्षमा कति भत्ता पाउनुहुन्छ ?

 फागुन १, २०७५ बुधबार १७:११:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – देशभित्रै रोजगारी सिर्जना गर्ने उद्धेश्यसहित सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सार्वजनिक गरेको छ । 

राष्ट्रिय सभागृहमा भएको समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटन गर्नुभएको हो । उहाँले यो कार्यक्रमले देशभित्रै युवाले रोजगारी पाउने मात्रै नभै विकास निर्माणका आयोजनाले पनि नेपाली कामदार पाउने दाबी गर्नुभयो । 

बुधबार घोषणा भएको कार्यक्रमअनुसार सरकारले वैदेशिक रोजगारीमा नगएका, घरमा एक जना पनि रोजगारी नपाएका र निरपेक्ष गरिवीको सूचीमा रहेका परिवारका एकजना सदस्यलाई वर्षको कम्तिमा एक सय दिन रोजगारी दिनेछ ।

रोजगारी दिन नसकेमा न्यूनतम पारिश्रमिकबापत पाउने ५० दिन बराबरको तलव बेरोजगार युवाले पाउनेछन् । 

कति पाइन्छ निर्वाह भत्ता ?

यदि परिवारको कुनै पनि सदस्यले न्यूनतम रोजगारी पाएको छैन, सरकारले तोकेको भन्दा कम वार्षिक आय छ,  परिवारको कुनै पनि सदस्य स्वरोजगार छैन, परिवारको कुनै पनि सदस्य वैदेशिक रोजगारीमा गएको छैन, वा सरकारी कोष या रोजगारदाताबाट  नियमित रुपमा निवृत्तिभरण या अरु कुनै सुविधा पाइएको छैन भने सरकारले  रोजगारी दिनेछ । 

सरकारले वर्षको कम्तिमा एक सय दिन रोजगारी दिनेछ । त्यसको लागि सरकारले नै खटाएको क्षेत्रमा जानुपर्नेछ । यदि सरकारले न्यूनतम एक सय दिन पनि रोजगारी दिन सकेन भने निर्वाहको लागि भत्ता दिनेछ । 

त्यसको लागि अहिले मजदुरले पाउँदै आएको न्यूनतम पारिश्रमिकलाई आधार मानिएको छ । अहिले मजदुरले मासिक न्यूनतम १३ हजार ४ सय ५० रुपैयाँ कमाउँछन । दैनिक ४ सय ४८ रुपैयाँ ३३ पैसा कमाउँन । 

सरकारले १ सय दिनको न्यूनतम तलबको आधा रकम दिने भनेको छ । यो भनेको ५० दिनको न्यूनतम तलब दिने हो । एक दिनको तलब ४ सय ४८ रुपैयाँ ४४ पैसा गुणा ५० गर्दा २२ हजार ४ सय १६ रुपैयाँ हुन आउँछ । 

सरकारले तोकेका शर्त पूरा हुँदाहुँदै पनि रोजगार पाइएन भने सरकारले अब वर्षको २२ हजार ४ सय १६ रुपैयाँ निर्वाह भत्ता दिनेछ । 
 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया